हेडलाईनसमाचारबागमती

४० दिनमै फर्किए गुरुङ गृहमन्त्रालयमा, महावीर पुनको दोस्रो मन्त्री यात्रा

प्रहार समाचार । काठमाडौँ, २६ जेठ २०८३ मंगलबार । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज मन्त्रिमण्डल पुनर्गठन गर्दै गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुनलाई नियुक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री शाहले भने रक्षा मन्त्रालय अझै आफ्नै जिम्मेवारीमा राखेका छन्।

 

नवनियुक्त गृहमन्त्री गुरुङका लागि यो मन्त्रालय नयाँ होइन। उनी यसअघि चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए भने वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। अर्थात् पहिलो कार्यकालमा उनले २७ दिन गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पद त्यागेको करिब ४० दिनपछि उनी पुनः त्यही मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। सरकारभित्र उनको पुनरागमनलाई राजनीतिक सन्तुलन र प्रशासनिक निरन्तरतासँग जोडेर हेरिएको छ।

उता विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बनेका महावीर पुनको पनि यो दोस्रो मन्त्री यात्रा हो। म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए। अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनलाई अहिलेको जिम्मेवारीले थप चुनौती र अपेक्षा दुवै दिएको छ। गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित गुरुङ र म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुनको पुनः मन्त्री नियुक्तिसँगै शाह सरकारले आफ्नो मन्त्रिमण्डललाई थप पूर्णता दिने प्रयास गरेको देखिएको छ। यद्यपि रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंसँग राखिनु र सीमित संख्यामा मात्र मन्त्री थपिनुले सरकार अझै पूर्ण विस्तारको प्रक्रियामै रहेको संकेत गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button