शिक्षाहेडलाईनव्याससमाचारगण्डकीसूचना प्रविधि

तनहुँको निर्मल माविका विद्यार्थी पन्थलाई अन्तर्राष्ट्रिय उपलब्धिपछि राष्ट्रिय सम्मान

प्रहार समाचार । तनहुँ, २५ जेठ २०८३ सोमबार । तनहुँको .व्यास नगरपालिका–१ भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी दीपेश पन्थ अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट नवप्रवर्तन प्रस्तुत गरेपछि राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। इन्डोनेसियाको जाकार्तामा सम्पन्न विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शनी तथा महोत्सवमा प्रस्तुत गरेको उनको अनुसन्धानमूलक परियोजनाले विश्वभरका अनुसन्धानकर्ता तथा प्रविधि विज्ञहरूको ध्यान आकर्षित गर्दै उल्लेखनीय सफलता हासिल गरेको हो।

 

पन्थले ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीको अभावका कारण उपचारबाट वञ्चित हुने ज्येष्ठ नागरिक तथा बालबालिकालाई लक्षित गर्दै अत्याधुनिक रोबोटिक तथा कृत्रिम बौद्धिकता (एआई) मा आधारित स्वास्थ्य परीक्षण प्रणाली विकास गरेका थिए। उक्त प्रणालीमार्फत मुटु तथा पिसाबसम्बन्धी प्रारम्भिक परीक्षण गर्न सकिने, बिरामीको अवस्था तत्काल विश्लेषण गर्न सकिने तथा संसारको जुनसुकै स्थानबाट स्वास्थ्य प्रतिवेदन हेर्न सकिने व्यवस्था रहेको छ। आवश्यक परेमा अनुभवी स्वास्थ्यकर्मीले टाढाबाटै बिरामीको अवस्थाको निगरानी तथा उपचारसम्बन्धी सुझाव दिन सक्ने विशेषता पनि परियोजनामा समावेश गरिएको छ। करिब ६५ देशबाट सहभागी ९ सय ६४ परियोजनामध्ये पन्थको परियोजना उत्कृष्ट एकल (सिङ्गल) परियोजनाको रूपमा छनोट हुनुका साथै दुई हजारभन्दा बढी परियोजनामध्ये उत्कृष्ट तीन स्थानभित्र पर्न सफल भएको जनाइएको छ।

परियोजनाले विभिन्न अन्तर्राष्ट्रिय सूचना प्रविधि कम्पनी तथा अनुसन्धान संस्थाको ध्यान समेत तानेको छ। थप अनुसन्धान तथा व्यावसायिक विकासका लागि केही संस्थाले परियोजनालाई छनोट गरेको जानकारी दिइएको छ। अन्तर्राष्ट्रिय सफलतापछि जेठ २४ गते आयोजित विशेष समारोहमा पन्थलाई राष्ट्रिय स्तरको सम्मान, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा विज्ञान प्रविधि क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा बोल्दै पन्थले विकसित राष्ट्रहरूले विज्ञान तथा प्रविधिमा गरेको लगानीको तुलनामा नेपालमा अझै पर्याप्त लगानी हुन नसकेको उल्लेख गर्दै अनुसन्धान, नवप्रवर्तन र वैज्ञानिक सोचको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राखे।

सामान्य विद्यालयमा अध्ययनरत विद्यार्थीले दृढ इच्छाशक्ति, सिर्जनशील सोच र निरन्तर मेहनतका माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन सकिन्छ भन्ने उदाहरण दीपेश पन्थले प्रस्तुत गरेका छन्। उनको उपलब्धिले निर्मल माध्यमिक विद्यालय मात्र नभई तनहुँ र समग्र देशकै गौरव बढाएको छ। साथै, विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ सोचसहित अघि बढ्न चाहने हजारौं विद्यार्थीका लागि पन्थ प्रेरणाका स्रोत बनेका छन्। कठिन परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै समाजका समस्याको समाधान खोज्ने प्रयास नै वास्तविक शिक्षा भएको सन्देश उनको सफलताले दिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button