हेडलाईनसमाचारगण्डकी

रास्वपा लमजुङको सभापतिमा सापकोटा

लमजुङ, जेठ २५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदानसम्म पुग्ने अवस्था बने पनि अन्ततः एक उम्मेदवारको त्यागपछि अशोक सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

 

पार्टीभित्र सम्भावित गुटबन्दी रोक्न भन्दै प्रमुख प्रतिस्पर्धी भोलानाथ शर्माले पुनः मतदानअघि नै प्रतिस्पर्धा छोडेपछि सापकोटालाई सभापतिमा निर्वाचित घोषणा गरिएको हो। हिंजो सम्पन्न अधिवेशनमा कुल २ सय १६ प्रतिनिधिमध्ये १ सय ७६ जनाले मतदान गरेका थिए। सभापति पदका पाँच उम्मेदवारबीच भएको पहिलो चरणको मतदानमा कसैले पनि आवश्यक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेनन्।

सापकोटाले सर्वाधिक ६९ मत ल्याउँदा शर्माले ४९ मत प्राप्त गरेका थिए। अन्य उम्मेदवारमध्ये हरिबहादुर धितालले ३३, विजयरञ्जन पौडेलले १६ र नवराज पहाडीले ७ मत पाएका थिए। निर्वाचन समितिका संयोजक तथा रास्वपा गण्डकी प्रदेश समितिका सहमहामन्त्री अनिशा अधिकारीका अनुसार विधानअनुसार शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको मतदान हुनुपर्ने व्यवस्था थियो। तर पुनः मतदानको तयारी भइरहेका बेला शर्माले चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गरेपछि प्रतिनिधिहरूको सहमतिमा सापकोटालाई सभापतिमा निर्वाचित घोषणा गरिएको हो। निर्वाचन प्रक्रिया त्याग्ने निर्णयबारे प्रतिक्रिया दिँदै शर्माले पार्टीको एकता आफूका लागि पदभन्दा महत्वपूर्ण रहेको बताए। उनले पार्टीभित्र विभाजन र गुटबन्दी हुन नदिन तथा संगठनलाई थप मजबुत बनाउन आफूले पुनः मतदानको प्रतिस्पर्धा त्यागेको स्पष्ट पारे।

अधिवेशनबाट उपसभापतिमा सन्तोषी गौली, सचिवमा मिना खड्का, सहसचिवमा गोविन्दबहादुर घले तथा सदस्यहरूमा सविता अधिकारी बराल, सुरेन्द्रलाल श्रेष्ठ, सिंहबहादुर घले र श्याम गुरुङ निर्वाचित भएका छन्। नवनिर्वाचित सभापति सापकोटाले जिल्लाका सबै वडामा पार्टी संगठन विस्तार गर्ने, आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर रणनीति तयार गर्ने तथा निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै पक्षलाई समेटेर संगठनलाई एकताबद्ध ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button