हेडलाईनसमाचारबागमती

‘नेपाली ब्रो’ भनेर चिनिने रेस्लर पत्नी हत्या आरोपमा पक्राउ, घरायसी विवादले लियो एक महिलाको ज्यान

प्रहार समाचार । काठमाडौं, २३ जेठ २०८३ शनिबार । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित व्यावसायिक रेस्लर कुमार थापा आफ्नै श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा पक्राउ परेका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा शुक्रबार राति भएको घटनाले एक महिलाको ज्यान लिएसँगै घरेलु हिंसाको भयावह रूप फेरि उजागर गरेको छ।

 

प्रहरीका अनुसार शुक्रबार राति करिब १० बजेतिर दम्पतीबीच चर्किएको घरायसी विवादका क्रममा थापाले श्रीमतीमाथि फलामको धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो। तर उपचार सुरु गर्नासाथ चिकित्सकले राति ११ः३० बजे उनलाई मृत घोषणा गरेका थिए।घटना लगत्तै परिचालित प्रहरी टोलीले थापालाई बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानबाट श्रीमान्–श्रीमतीबीच लामो समयदेखि सम्बन्धमा तनाव रहेको र उनीहरू सम्बन्ध विच्छेद (डिभोर्स) को अन्तिम चरणमा पुगेको खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले घटनाबारे प्रारम्भिक अनुसन्धान जारी रहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। उनले घटनाको कारण, प्रयोग गरिएको हतियार र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको बताए। प्रहरीका अनुसार हाल घटनासँग सम्बन्धित सबै तथ्य संकलन गर्ने, प्रत्यक्षदर्शी र परिवारका सदस्यसँग बयान लिने तथा प्राविधिक प्रमाणहरूको विश्लेषण गर्ने काम भइरहेको छ। मृतक ईश्वरी भुजेलको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमै राखिएको छ।

सामाजिक सञ्जालमा लोकप्रियता कमाएका कुमार थापा अहिले भने पत्नी हत्या जस्तो गम्भीर आपराधिक अभियोगको सामना गरिरहेका छन्। सामान्य विवादबाट सुरु भएको भनिएको घटना अन्ततः ज्यान जाने अवस्थासम्म पुग्नुले पारिवारिक कलह, घरेलु हिंसा र सम्बन्ध व्यवस्थापनका चुनौतीबारे गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

     

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button