प्रहार समाचार । तनहुँ, २३ जेठ २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–८ कोरथोक पुख्यौली थलो भएका सहसचिव कुमानसिंह गुरुङ कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) नियुक्त भएका छन्। गृह मन्त्रालयको हालैको निर्णयअनुसार गुरुङलाई कास्कीको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो। उ

लामो समयदेखि निजामती प्रशासनमा सक्रिय गुरुङ अनुभवी र परिणाममुखी प्रशासकका रूपमा परिचित छन्। प्रशासनिक दक्षता, सुशासनप्रतिको प्रतिबद्धता र सेवामुखी कार्यशैलीका कारण उनले विभिन्न जिम्मेवारीमा सफल नेतृत्व प्रदान गर्दै आएका छन्। कास्की जस्तो महत्वपूर्ण जिल्लाको नेतृत्वमा उनको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि गुरुङले बागलुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेर विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय काम गरेका थिए।
उनको अनुभव र कार्यसम्पादनले उनलाई थप जिम्मेवारी प्राप्त गर्न सफल बनाएको मानिन्छ। तनहुँको ग्रामीण भेगबाट उठेर मुलुकको प्रशासनिक क्षेत्रमा महत्वपूर्ण स्थान बनाउन सफल गुरुङको यो नियुक्तिले जिल्लाको प्रतिष्ठा समेत उँचो बनाएको स्थानीयवासीको भनाइ छ। कास्कीमा शान्ति सुरक्षा, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउन गुरुङको नेतृत्व महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।















