हेडलाईनसमाचारबागमती

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

प्रहार समाचार । काठमाडौं, २२ जेठ २०८३ शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृति राष्ट्रको मौलिक पहिचान तथा गौरवका आधार भएको बताएका छन् । । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे ।

 

साहित्यले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय, देशप्रेम तथा सकारात्मक परिवर्तनका लागि प्रेरित गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने राष्ट्रपति पौडेलको जोड थियो । राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य, जनचेतना र राष्ट्रिय भावनाको विकासमा युगकवि सिद्धिचरण श्रेष्ठले पुर्‍याएको योगदानको स्मरण गर्दै नयाँ पुस्ताले उहाँलाई इतिहासका एक कविका रूपमा मात्र नभई चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा बुझ्न आवश्यक रहेको बताए । उनले सिद्धिचरण आफ्नो समयको चेतना, समाजको संवेदना र परिवर्तनप्रतिको आकांक्षालाई शब्दमार्फत अभिव्यक्त गर्ने विशिष्ट साहित्यिक व्यक्तित्व भएको उल्लेख गरे। उनले तत्कालीन कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि सिद्धिचरण श्रेष्ठले साहित्यका माध्यमबाट स्वतन्त्रता, न्याय, मानवता, राष्ट्रिय स्वाभिमान र जनचेतनाको सन्देश प्रवाह गरेको बताए ।

राष्ट्रपति पौडेलले कारागारमा रहँदा आफ्नै पिताको काजक्रियामा सहभागी हुन नपाएको पीडादायी प्रसंगले उहाँको संघर्ष, त्याग र साहित्यप्रतिको निष्ठा झल्काउने बताए । राष्ट्रपति पौडेलले सिद्धिचरण श्रेष्ठको चर्चित कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको अगाध प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गरे । कार्यक्रममा साहित्यकार डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार, स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

       

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button