प्रहार समाचार । तनहुँ, २२ जेठ २०८३ शुक्रबार । लामो समयदेखि दमौली बजार क्षेत्रको सडक अधिकार क्षेत्र र फुटपाथ अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाविरुद्ध अन्ततः व्यास नगरपालिकाले कडा निर्णय लिएको छ। नगर कार्यपालिकाको आज बसेको २ सय ३८औँ बैठकले सडक पेटी तथा सार्वजनिक क्षेत्र ओगटेर बनाइएका पक्की संरचना, बरन्डा र टिनका छाना ३५ दिनभित्र हटाउन सूचना जारी गर्ने निर्णय गरेको हो। तोकिएको समयभित्र संरचना नहटाए नगरपालिकाले आफैं हटाउने स्पष्ट चेतावनी दिएको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले दमौली बजारमा बढ्दो अतिक्रमणका कारण ट्राफिक व्यवस्थापन, पैदलयात्रीको आवतजावत तथा बजारको सौन्दर्यसमेत प्रभावित भएको निष्कर्ष निकाल्दै अवैध संरचना हटाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको हो। यसअघि जेठ ५ गते ट्राफिक व्यवस्थापनका लागि गरिएका निर्णयहरूलाई समेत पूर्ण रूपमा कार्यान्वयन गर्ने बैठकले जनाएको छ। वर्षौंदेखि सार्वजनिक सडक र फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनाका कारण सर्वसाधारणले सास्ती खेप्दै आएका थिए। बजार क्षेत्रमा हिँडडुल गर्नसमेत कठिन अवस्था सिर्जना भएको भन्दै नगरवासीले पटक–पटक गुनासो गर्दै आएका थिए।
नगरपालिकाले ढिलै भए पनि अवैध संरचना हटाउने निर्णय गरेपछि आम नगरवासीले यसलाई सकारात्मक रूपमा लिएका छन्। सार्वजनिक सम्पत्ति संरक्षण, सडकको चौडाइ कायम गर्ने तथा पैदलयात्रीमैत्री बजार निर्माणका लागि यो निर्णय आवश्यक रहेको स्थानीयको भनाइ छ। बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई पनि अघि बढाएको छ। सबै वडा समिति तथा शाखाहरूलाई जेठ २९ गतेभित्र सुझाव र समीक्षा प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। कार्यसम्पादनका आधारमा प्रत्येक वडालाई न्यूनतम एक करोडदेखि अधिकतम एक करोड छ लाख रुपैयाँसम्मको बजेट सिलिङ निर्धारण गर्ने निर्णयसमेत गरिएको छ। यसैगरी संघीय बजेटमार्फत सरकारी कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि भएपछि त्यसबाट नगरपालिकामा पर्ने आर्थिक भारको अध्ययन गर्न प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
विभिन्न विद्यालयका प्रधानाध्यापक नियुक्ति अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे धार्मिक, सांस्कृतिक तथा प्राज्ञिक क्षेत्रसँग परामर्श गर्न असार १ गते विशेष बैठक आयोजना गर्ने निर्णयसमेत गरिएको लम्सालले जानकारी दिए। नगरपालिकाको पछिल्लो निर्णयसँगै दमौली बजारमा वर्षौंदेखि जरा गाडेर बसेको अतिक्रमण हट्ने अपेक्षा गरिएको छ। निर्णय कार्यान्वयनमा नगरपालिका कत्तिको दृढतापूर्वक उत्रिन्छ भन्ने विषय भने अब सबैको चासोको केन्द्र बनेको छ।















