हेडलाईनसमाचारगण्डकी

गण्डकीको समृद्धिको आधार कृषि र पर्यटन, गाउँ फर्किने किसानदेखि धार्मिक पर्यटन परिपथसम्मको योजना

प्रहार समाचार । कास्की, २१ जेठ २०८३ बिहीबार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि र पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सरकारले गाउँको उत्पादन, रोजगारी र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्ने तथा प्रदेशका धार्मिक एवं प्राकृतिक सम्पदालाई आर्थिक विकाससँग जोड्ने रणनीति अघि सारेको हो।

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को दीर्घकालीन सोचलाई केन्द्रमा राखिएको छ। कार्यक्रममा ‘सम्मानजनक कृषि : प्रदेशको दृष्टि’ भन्ने आदर्श वाक्यसहित कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण र व्यवसायीकरणलाई प्राथमिकतामा राखिएको छ। विदेश तथा देशका विभिन्न सहरबाट गाउँ फर्केर कृषि तथा कृषि उद्योग सञ्चालन गर्न चाहने युवालाई व्यवसायिक कर्जामा ब्याज अनुदान प्रदान गर्दै ‘रिटर्न टु भिलेज’ अभियान सञ्चालन गरिने भएको छ।

कृषि उत्पादनको बजारीकरणलाई सहज बनाउन ‘कृषि एप’ विकास गरिने तथा कृषि एम्बुलेन्स सेवामार्फत किसानका उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था प्रभावकारी बनाइने जनाइएको छ।कृषि उपजको गुणस्तर परीक्षण तथा स्तरीकरणका लागि अन्तरप्रदेश साझेदारीमा प्रयोगशाला स्थापना गरिने भएको छ भने कृषि बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति लिइएको छ। साथै जग्गा चक्लाबन्दी, आलु तथा चैते धान प्रवर्द्धन र करिडोर लक्षित कृषि विकास कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।पशुपालन क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षमा १० स्थानीय तहलाई ‘पशुमा पूर्ण खोप स्थानीय तह’ घोषणा गर्ने र चालु पञ्चवर्षीय योजनाभित्रै गण्डकीलाई पूर्ण पशु खोपयुक्त प्रदेश बनाउने लक्ष्य राखिएको छ।

पर्यटनतर्फ प्रदेश सरकारले पोखरालाई केन्द्रमा राखेर एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गर्ने घोषणा गरेको छ। धार्मिक पर्यटन प्रवर्द्धनका लागि दामोदरकुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणीधामलाई जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ निर्माण गरिने भएको छ।आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न ‘पहिला घरदेश अनि परदेश’ तथा ‘लेक टु लेक’ कार्यक्रम सञ्चालन गरिनेछ। मनास्लु, अन्नपूर्ण र धवलागिरि हिमाल क्षेत्रसँगै ढोरपाटनको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पदमार्ग स्तरोन्नति तथा नयाँ वैकल्पिक पदमार्गको पहिचान र विकास गरिने नीति लिइएको छ।

यसैगरी मोदीवेणीधामदेखि भैरवस्थान हुँदै पुर्कोटसम्म धार्मिक पदमार्ग निर्माण गरिने भएको छ भने लिगलिगकोट–गोरखा दरबार–मनकामना पदमार्गलाई नेपाल एकीकरण र नेपाली सभ्यताको पहिचान बोकेको ऐतिहासिक मार्गका रूपमा विकास गरिने कार्यक्रमसमेत सार्वजनिक गरिएको छ।प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, ग्रामीण रोजगारी सिर्जना र पर्यटन पूर्वाधार विस्तारमार्फत प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रम अघि सारेको छ।

 

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button