प्रहार समाचार । भारत , १९ २०८३ मंगलबार । नयाँ दिल्ली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय नेतृत्वसँग नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता गरेको छ। रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी रहेको टोलीले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नविन, महासचिव अरुण सिंह, विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत नेतासँग राजनीतिक तथा कूटनीतिक विषयमा छलफल गरेको हो।

भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई दलगत तहबाट थप सुदृढ बनाउने, लोकतान्त्रिक अभ्यासहरूबारे अनुभव आदानप्रदान गर्ने तथा दुई देशका राजनीतिक दलबीच संवादको दायरा विस्तार गर्ने विषयमा केन्द्रित छलफल भएको जनाइएको छ। दुवै पक्षले ऐतिहासिक, सांस्कृतिक र जनस्तरमा रहेको सम्बन्धलाई समसामयिक आवश्यकताअनुसार थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।छलफलका क्रममा संगठन निर्माण, कार्यकर्ता परिचालन, जनसम्पर्क विस्तार, विकासमुखी सुशासन तथा राजनीतिमा नयाँ पुस्ताको नेतृत्व विकासका विषयमा समेत अनुभव साटासाट गरिएको बताइएको छ।

रास्वपाले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका बेला भारतीय राजनीतिक अभ्यास र संगठनात्मक संरचनाबारे जानकारी आदानप्रदानलाई महत्वका साथ हेरिएको छ।रास्वपाले यस भेटलाई दुई दलबीचको सम्बन्ध विस्तार मात्र नभई लोकतान्त्रिक मूल्य, संस्थागत विकास र राजनीतिक परिपक्वताका अनुभव सिक्ने अवसरका रूपमा व्याख्या गरेको छ। दिल्लीमा भएको यो उच्चस्तरीय संवादले रास्वपाको अन्तर्राष्ट्रिय राजनीतिक सम्पर्क विस्तार तथा संगठनात्मक सुदृढीकरणको प्रयासलाई थप गति दिने अपेक्षा गरिएको छ।






















