हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतमा सञ्जालीय ठगीमा फसेका ४ सय बढि नेपालीको उद्धार

प्रहार समाचार । काठमाडौं, १९ जेठ २०८३ मंगलबार । सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाएर भारतीय सीमावर्ती क्षेत्रमा नेपाली नागरिकलाई श्रम शोषण तथा ठगीमा पारिएको घटनामा भारतस्थित नेपाली राजदूतावास, नयाँ दिल्लीको पहलमा ४ सय ५३ नेपाली नागरिकको उद्धार गरिएको छ।

राजदूतावासले हिंजो जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्राप्त सूचनाका आधारमा उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय तथा गैरसरकारी संस्था KIN India सँग समन्वय गरी उद्धार अभियान सञ्चालन गरिएको हो। उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा सञ्जालीय ठगी (नेटवर्किङ फ्रड) मा फसेका १ सय १५ महिला र ३ सय ३८ पुरुष गरी ४ सय ५३ नेपाली नागरिकलाई यहि जेठ १६ गते उद्धार गरिएको थियो। उद्धार गरिएका सबैलाई नेपाल ल्याई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको जिम्मा लगाइएको राजदूतावासले जनाएको छ।

उद्धारपछि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले घटनासँग सम्बन्धित ६ महिलासहित १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। मानव बेचबिखन, श्रम शोषण तथा ठगीका सम्भावित पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

उद्धार अभियान सफल बनाउन सहयोग पुर्‍याउने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, KIN India लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सबै निकायप्रति नेपाली राजदूतावासले आभार व्यक्त गरेको छ। साथै वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रलोभनका नाममा गरिने प्रस्तावप्रति सजग रहन र सत्यतथ्य बुझेर मात्र निर्णय लिन सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button