हेडलाईनसमाचारगण्डकीभिमादस्वास्थ्य

दुग्धवर्धक आयुर्वेदिक जडीबुटीको प्रवर्द्धनमा जोड : स्तनपान गराउने आमालाई स्वास्थ्य सचेतना

प्रहार समाचार । तनहुँ, १९ जेठ २०८३ सोमबार । स्तनपान गराउने आमाहरूमा दूध उत्पादन वृद्धि गरी मातृ तथा शिशु स्वास्थ्यलाई थप सुदृढ बनाउने उद्देश्यले प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले सञ्चालन गरेको दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।

भिमाद नगरपालिकामा आयोजित कार्यक्रममा आयुर्वेदिक उपचार पद्धति, पोषणयुक्त आहार तथा स्वस्थ जीवनशैलीको महत्वबारे जानकारी प्रदान गरिएको छ। कार्यक्रमको अध्यक्षता गर्दै प्रदेश आयुर्वेद चिकित्सालय दमौलीका प्रमुख डा. नारायण श्रेष्ठले मातृ तथा शिशुको स्वास्थ्य संरक्षणका लागि स्तनपानलाई प्रभावकारी बनाउन आयुर्वेदिक जडीबुटी तथा औषधिको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे। उनले परम्परागत ज्ञान र आयुर्वेदिक उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य सेवासँग समन्वय गरी समुदायस्तरमा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले “मातृ–शिशु स्वास्थ्य सुरक्षार्थ दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि” विषयक कार्यपत्र प्रस्तुत गर्दै स्तनपान गराउने आमाहरूका लागि उपयोगी दुग्धवर्धक जडीबुटी, आयुर्वेदिक औषधि तथा स्वस्थ जीवनशैलीका बारेमा विस्तृत जानकारी गराएका थिए। उनले मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा आयुर्वेदिक उपचार पद्धति, नियमित पोषणयुक्त आहार र जीवनशैली व्यवस्थापनको महत्वबारे समेत प्रकाश पारे।कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूलाई आयुर्वेदिक जीवनशैली, प्राकृतिक उपचार पद्धति र मातृ–शिशु स्वास्थ्य प्रवर्द्धनसम्बन्धी विविध विषयमा अभिमुखीकरण गरिएको थियो।

सहभागीहरूले दुग्धवर्धक आयुर्वेदिक औषधि तथा जडीबुटीको प्रयोग, सन्तुलित आहार र स्तनपानको महत्वबारे उपयोगी जानकारी प्राप्त गरेका थिए। भिमाद नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले यस्ता जनचेतनामूलक तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए। “स्वस्थ आमा, स्वस्थ शिशु, समृद्ध परिवार” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमले स्तनपान गराउने आमाहरूको स्वास्थ्य सुदृढीकरण, मातृ–शिशु पोषण सुधार तथा आयुर्वेदिक उपचार पद्धतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमको सहजीकरण कविराज निरीक्षक सोमकान्त पौडेलले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button