• विजय अधिकारी (संवाददाता) लमजुङ, १८ जेठ २०८३ सोमबार । सवारी साधनको छतमाथि यात्रु तथा सामान बोक्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको भन्दै लमजुङमा ट्राफिक प्रहरीले यात्रुवाहक जिप तथा पिकअपमा जडान गरिएका अवैध हुट हटाउने अभियान सुरु गरेको छ। गत आइतबारदेखि सुरु गरिएको अभियान एक सातासम्म सञ्चालन हुने जनाइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतमबहादुर खत्रीका अनुसार ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका डबल क्याप बलेरो, पिकअप तथा जिपमा सवारी दर्ता प्रमाणपत्र (बिलबुक) मा उल्लेख नगरी आफूखुसी जडान गरिएका हुट हटाउन थालिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन रोकेर अनुमतिबिना राखिएका छतका संरचना हटाउने काम गरिरहेका छन्। प्रहरीका अनुसार कतिपय जिपको छतमै यात्रु राखेर यात्रा गराउने गरिएको पाइएको छ। अत्यधिक भारका कारण सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै मानवीय क्षति समेत हुने भएकाले कानुनी प्रक्रिया पूरा नगरी राखिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको हो।

यस अभियानका लागि ट्राफिक प्रहरीतर्फबाट २१ जना जनशक्ति परिचालन गरिएको छ। जिल्लाका विभिन्न ९ स्थानमा अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।लमजुङका अधिकांश पहाडी सडक साँघुरा, घुम्तीदार, एकतर्फी तथा कच्ची रहेकाले सवारी साधनको छतमाथि यात्रु तथा सामान बोक्ने अभ्यास झनै जोखिमपूर्ण मानिएको छ। विशेषगरी उकालो तथा अप्ठ्यारो सडकमा सन्तुलन गुम्दा ठूलो दुर्घटना हुन सक्ने भन्दै प्रहरीले यस्तो कार्य रोक्न कडाइ गरेको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी साधनको माथिल्लो भागमा हुट राखेर यात्रु राख्ने तथा ओभरलोड गर्ने प्रवृत्तिविरुद्ध निगरानी कडा पारिएको बताए। उनले सडक सुरक्षालाई ध्यानमा राख्दै नियमविपरीतका गतिविधिमा संलग्न सवारी साधनमाथि आवश्यक कारबाही जारी रहने स्पष्ट पारे।























