हेडलाईनसमाचारबागमती

नारायणहिटीको त्यो कालो रात : २५ वर्षपछि पनि अनुत्तरित छन् दरबार हत्याकाण्डका प्रश्नहरू

प्रहार समाचार । काठमाडौं, १९ जेठ२०८३ सोमबार । नेपाली इतिहासको सबैभन्दा दुःखद, रहस्यमय र दूरगामी प्रभाव पार्ने घटनामध्ये एक मानिएको नारायणहिटी राजदरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ। विसं २०५८ जेठ १९ गते शुक्रबार राति नारायणहिटी राजदरबारमा भएको सामूहिक गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्रसहित राजपरिवारका अधिकांश सदस्यको मृत्यु भएको थियो। उक्त घटनाले देशलाई गहिरो शोकमा डुबाउनुका साथै नेपालको राजनीतिक यात्रालाई नयाँ मोडमा पुर्‍याएको थियो।

राजदरबारमा आयोजित पारिवारिक भेटघाट तथा भोजका क्रममा भएको गोलीकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत राजपरिवारका धेरै सदस्यको ज्यान गएको थियो। घटनापछि सरकारले गठन गरेको छानबिन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको निष्कर्ष निकाले पनि घटनाको वास्तविकता र त्यसपछिका विभिन्न प्रश्नहरूबारे जनस्तरमा अझै जिज्ञासा र बहस कायम छ। यही कारण दरबार हत्याकाण्ड आज पनि नेपालको सबैभन्दा रहस्यमय घटनामध्ये एक मानिन्छ।घटनापछि अचेत अवस्थामा रहेका दीपेन्द्रलाई संवैधानिक व्यवस्थाअनुसार राजा घोषणा गरिएको थियो। तर उपचारका क्रममा तीन दिनपछि उनको पनि निधन भयो। त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले नेपालको राजगद्दी सम्हाले।

‘ज्ञानेन्द्रको शासनकालमा राजनीतिक अस्थिरता बढ्दै गयो भने माओवादी सशस्त्र विद्रोह पनि झन् चर्किंदै गयो। २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नो हातमा लिएपछि राजसंस्थाप्रति जनअसन्तुष्टि थप बढेको थियो।त्यसपछिका राजनीतिक घटनाक्रमले देशलाई नयाँ दिशातर्फ अघि बढायो। २०६२–६३ को जनआन्दोलन, संसद् पुनःस्थापना, राजाका अधिकार कटौती तथा लोकतान्त्रिक आन्दोलनको सफलतापछि अन्ततः २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।

आज दरबार हत्याकाण्डको २५ औँ वर्ष पुग्दा त्यो घटना केवल राजपरिवारको दुःखद अन्त्य मात्र नभई नेपालको राजनीतिक व्यवस्था परिवर्तनको एउटा निर्णायक बिन्दुका रूपमा स्मरण गरिन्छ। यद्यपि, नारायणहिटीको त्यो रक्तरञ्जित रातसँग जोडिएका अनेक प्रश्नहरू अझै पनि इतिहासका पानामा अनुत्तरित नै रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button