हेडलाईनसमाचारबागमती

‘नेपाल–भारत सीमा विवादको समाधान कूटनीतिक संवाद र संयुक्त अध्ययनमार्फत खोज्नु पर्छ : प्रधानमन्त्री शाह

प्रहार समाचार । काठमाडौँ, १७ जेठ २०८३ आइतबार । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमा विवादको समाधान कूटनीतिक संवाद र संयुक्त अध्ययनमार्फत खोज्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसद आरेन राईको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विवाद समाधानका लागि सरकारले पहल गरिरहेको जानकारी दिए ।

जवाफका क्रममा प्रधानमन्त्री शाहले सीमा विवादबारे आफू प्रधानमन्त्री बनेपछि थप यथार्थ जानकारी पाएको उल्लेख गर्दै भारतले मात्र नभई केही स्थानमा नेपालतर्फबाट पनि भारतीय भूमि अतिक्रमण भएको तथ्य फेला परेको बताए । प्रधानमन्त्रीले सीमाका विषयमा भावनात्मक बहसभन्दा तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्ने धारणा राखे । ‘नेपालले यस विषयमा भारत र चीनलाई कूटनीतिक नोट पठाइसकेको छ भने त्यसको जवाफसमेत प्राप्त भइसकेको छ।’ सीमा सम्बन्धी विवादलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको छ ।’ प्रधानमन्त्री शाहले भने ।

सीमाको वास्तविक अवस्था पहिचान गर्न नेपाल र भारतबीच संयुक्त अध्ययन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा क्षेत्रमा देखिएका समस्या मित्रवत् ढङ्गले वार्ता र छलफलमार्फत समाधान गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारे । प्रधानमन्त्री शाहले राष्ट्रिय हितको रक्षा गर्दै छिमेकी मुलुकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा सरकार अघि बढिरहेको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button