प्रहार समाचार । काठमाडौँ, १७ जेठ २०८३ आइतबार । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की बुढानीलकण्ठ उत्सव २०८३ का अवसरमा राजधानि काठमाडौंमा हिंजो सम्मानित भएका छन् । बुढानीलकण्ठ–१२ कपनमा आयोजित बृहत् जनचेतनामूलक सांस्कृतिक कार्यक्रम तथा बुढानीलकण्ठ उत्सवको अवसरमा नेपाली लोककला, संस्कृति, साहित्य तथा मौलिक भजन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पत्रकारितामार्फत पुऱ्याएको योगदानको कदर गर्दै नहर्कीलाई सम्मान गरिएको हो ।

बुढानीलकण्ठ नगरपालिकाको संरक्षकत्व तथा विभिन्न सांस्कृतिक संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, वडा नं. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई र कार्यक्रम संयोजक तथा लोकदोहोरी गायक नवीन पौडेलले संयुक्त रूपमा नहर्कीलाई सम्मान–पत्र प्रदान गरेका थिए । त्यस अवसरमा नगर प्रमुख अधिकारीले समाजमा सकारात्मक चेतना फैलाउन, विकृति–विसंगतिविरुद्ध आवाज उठाउन तथा संस्कृति संरक्षणमा पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

हाल काठमाडौँ विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि अध्ययनरत नहर्की यसअघि पनि शिक्षा तथा मोफसल पत्रकारितासम्बन्धी विभिन्न राष्ट्रिय र क्षेत्रीय पुरस्कारबाट सम्मानित भइसकेका छन् । सम्मानीत भएपछि नहर्कीले सम्मानले पत्रकारितामा थप दायित्व थपिएको उल्लेख गरे । ‘जोगाऔँ सम्पदा, संस्कृति र सभ्यता’ भन्ने मूल नारासहित आयोजित उत्सवमा दिभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा लागुऔषध दुव्र्यसन, सामाजिक सञ्जालको दुरुपयोग, महिला हिंसा र सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी सचेतनामूलक नाटक समेत प्रदर्शन गरिएको थियो ।
























