प्रहार समाचार । काठमाडौँ, १७ जेठ२०८३ आइतबार । उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भई वर्षा तथा हुरी चल्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अधिकांश हिमाली तथा पहाडी भूभागमा बदली रहेको जनाएको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको जनाएको छ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बदली कायम रहने तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचनाबारे अद्यावधिक रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।
























