हेडलाईनव्याससमाचारगण्डकी

‘व्यासभूमिलाई विश्वकै उत्कृष्ट आध्यात्मिक केन्द्र बनाऔँ ।’ – जगद्‌गुरु शंकराचार्य

प्रहार समाचार । १५ जेठ २०८३ शुक्रबार । हिन्दू धर्मका सर्वोच्च गुरु जगद्‌गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले भगवान वेदव्यासको जन्मभूमि दमौलीलाई विश्वकै उत्कृष्ट धार्मिक तथा आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।

तनहुँको दमौलीस्थित व्यास गुफा परिषरको अबलोक पछि वेदव्यास सञ्जीवनी ध्यान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यासभूमि समस्त मानव कल्याण र आध्यात्मिक चेतनाको पवित्र मुहान भएको उल्लेख गरे । चार वेद र अठार पुराणका रचयिता भगवान वेदव्यासको पावन जन्मस्थल दमौलीमा बिहीबार साँझ कडा सुरक्षा व्यवस्थाबीच जगद्‌गुरु शंकराचार्यको ऐतिहासिक आगमन भएको हो । उनको स्वागतका लागि व्यास नगरका लब्धप्रतिष्ठित व्यक्तित्व, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारण नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा जगद्‌गुरुले वैदिक सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबैले साझा दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष खेमराज जय श्रीहरीले जगद्‌गुरुको आगमनले व्यासभूमिको धार्मिक गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न ठूलो योगदान पुग्ने बताए । व्यासगुफाका शान्ति स्वरूपानन्द दामोदर बाबाले पनि पौराणिक कालदेखि सिद्धस्थलका रूपमा रहेको व्यासभूमिको उचित प्रचारप्रसार हुन नसकिरहेको अवस्थामा जगद्‌गुरुको भ्रमणले नयाँ आशा र सन्देश दिएको प्रतिक्रिया दिए ।

दक्षिण भारतको प्रसिद्ध श्रृङ्गेरी शारदा पीठका उत्तराधिकारीका रूपमा रहेका जगद्‌गुरु शंकराचार्यले भ्रमणका क्रममा ऐतिहासिक व्यासगुफाको अवलोकन गर्नुका साथै पराशर गुफा र मादी–सेती नदीको संगम क्षेत्रको महत्वबारे समेत चासो व्यक्त गरेका थिए । धार्मिक क्षेत्रका अगुवाहरूले उनको यो भ्रमणले ओझेलमा परेको व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण आधार तयार गरेको बताएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button