प्रहार समाचार । तनहुँ, १५ जेठ २०८३ शुक्रबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिने नवजात शिशुलाई आफ्नै आमाले खाल्डो खनेर पुरेको घटनाले स्थानीय क्षेत्र स्तब्ध बनेको छ। इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार हिंजो साँझ करिब ५ः३५ बजे उक्त घटना भएको हो।

प्रहरीका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका स्थायी घर भई हाल तनहुँको शुब्लागण्डकी सिद्धार्थ टोलमा डेरा गरी बस्दै आएका ३६ वर्षीय गोपाल थापाकी श्रीमती ३७ वर्षीया मैना थापाले आफ्नी ३१ दिने छोरी प्रिन्सिका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेकी हुन्। मानसिक तनावका कारण डिप्रेसनको औषधि सेवन गर्दै आएकी महिलाले यस्तो घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनापछि शिशुका बुबा गोपाल थापाले खाल्डोबाट तत्काल बच्चीलाई निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौंडा पुर्याएका थिए।
तर, चिकित्सकले जाँचपछि साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेका थिए। अस्पतालबाट प्राप्त सूचनापछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले शिशुकी आमा मैना थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलचौतारामा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
























