हेडलाईनव्याससमाचारगण्डकी

जगद्‌गुरु शंकराचार्यको तनहुँको दमौलीमा ऐतिहासिक आगमन : व्यासभूमिको धार्मिक गरिमा थप उचाइमा

प्रहार समाचार । १५ जेठ २०८३ शुक्रबार । चार वेद र अठार पुराणका रचयिता भगवान वेदव्यासको पावन जन्मभूमि दमौलीमा हिन्दू धर्मका सर्वोच्च गुरु जगद्‌गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमको बिहीबार साँझ कडा सुरक्षा पहराबीच ऐतिहासिक आगमन भएको छ । उनको स्वागतका लागि व्यास नगरका लब्धप्रतिष्ठित व्यक्तित्व, धार्मिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारण नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यस अवसरमा जगतगुरु शंकराचार्यले ऐतिहासिक व्यास गुफा परिषरको अबलोकन गरे । त्यस पछि दमौलीस्थित वेदव्यास सञ्जीवनी ध्यान प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटनमा जुट्नुका साथै व्यास क्षेत्र परिषर भित्र बृक्षारोपण कार्यक्रममा समेत सरिक भए । जगद्‌गुरुको आगमनलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ ।

प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष खेमराज जय श्रीहरीले जगद्‌गुरुको आगमनले व्यासभूमिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । व्यासगुफाका शान्ति स्वरूपानन्द दामोदर बाबाले पनि जगद्‌गुरुको उपस्थितिले तनहुँको धार्मिक एवं सांस्कृतिक गरिमालाई नयाँ उचाइमा पु¥याएको बताए । उनले पौराणिक कालदेखि सिद्धस्थलका रूपमा परिचित व्यासभूमिको प्रचारप्रसार अपेक्षाअनुसार हुन नसकिरहेको अवस्थामा यस्तो ऐतिहासिक भ्रमणले विश्व समुदायलाई महत्वपूर्ण सन्देश दिएको उल्लेख गरे ।सनातन धर्मका सर्वोच्च व्याख्याता एवं पथप्रदर्शक मानिने जगद्‌गुरु शंकराचार्यले सो अवसरमा भगवान वेदव्यासको जन्मभूमि समस्त मानव कल्याण र आध्यात्मिक चेतनाको मुहान भएको बताए । उनले वैदिक सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिँदै व्यासभूमिलाई विश्वकै उत्कृष्ट धार्मिक तथा आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे । उनले ऐतिहासिक व्यासगुफाको अवलोकन गर्नुका साथै पराशर गुफा र मादी–सेती नदीको संगम क्षेत्रको महत्वबारे समेत चासो व्यक्त गरेका थिए ।

दक्षिण भारतको प्रसिद्ध श्रृङ्गेरी शारदा पीठका उत्तराधिकारीका रूपमा रहेका जगद्‌गुरुको दमौली भ्रमणलाई धार्मिक क्षेत्रले गौरवपूर्ण र ऐतिहासिक घटनाका रूपमा लिएको छ । हिन्दू दर्शनमा अत्यन्त महत्वपूर्ण मानिने श्रृङ्गेरी पीठका शंकराचार्यलाई ज्ञान र सनातन संस्कृतिको प्रतीकका रूपमा सम्मान गरिन्छ । भगवान वेदव्यासको जन्मस्थल भएर पनि ओझेलमा परेको व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन जगद्‌गुरुको यो आगमन कोशेढुङ्गा सावित हुने स्थानीयवासी तथा धार्मिक अगुवाहरूको विश्वास छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button