काठमाडौँ, १४ जेठ २०८३ बिहीबार । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । यही मौसमी प्रणालीका कारण बुधबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हुरीसहित हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै स्थानमा बदली रही मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ । यस्तै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।मौसमविद्का अनुसार बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अत्यधिक गर्मी कायम रहने र तातो दिनको अवस्था सिर्जना हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने बताइएको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका केही स्थानमा हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
























