हेडलाईनसमाचारबागमती

आज बकर इद : देशभर उल्लासका साथ मनाइँदै

प्रहार समाचार । काठमाडौं, १४ जेठ २०८३ बिहीबार । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइँदै छ । आज बिहानैदेखि मुस्लिम समुदायका मानिसहरू मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्दै अल्लाहसँग शान्ति, समृद्धि र सद्भावको कामना गरेका छन् ।

नमाजपछि परम्पराअनुसार कुर्बानी दिने कार्यसमेत सुरु भएको छ । मुस्लिम धार्मिक मान्यताअनुसार रमजान अर्थात् इदुल फित्र पर्वको करिब ७० दिनपछि बकर इद मनाउने परम्परा रहिआएको छ । यस दिन बिहान स्नान गरी नयाँ वा सफा लुगा लगाएर मस्जिदमा गई सामूहिक नमाज पढ्ने चलन रहेको छ । नमाज सम्पन्न भएपछि एकआपसमा अँगालो हालेर शुभकामना आदानप्रदान गर्ने तथा परिवार, आफन्त र छिमेकीसँग खुसी साटासाट गर्ने प्रचलन छ ।पर्वका अवसरमा घरघरमा विभिन्न प्रकारका मिठाई, फलफूल तथा मासुका परिकार तयार पारिएको छ । परिवारका सदस्य एकै ठाउँमा भेला भएर रमाइलो वातावरणमा भोजन गर्ने तथा गरिब, असहाय र आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने परम्पराले पनि बकर इदलाई सामाजिक सद्भाव र मानवताको पर्वका रूपमा चिनाएको छ ।

हिन्दु समुदायले दशैँलाई विशेष पर्वका रूपमा मनाएझैँ मुस्लिम समुदायले बकर इदलाई अत्यन्त महत्त्वपूर्ण पर्वका रूपमा लिने गर्दछन् ।यस अवसरमा काठमाडौंको घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद, स्वयम्भू जामे मस्जिद, खुसीबु जामे मस्जिद, इस्लामिक कल्चरल सेन्टर, मस्जिद–ए–बिलाल, मस्जिद–ए–उमरलगायत देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि श्रद्धालुको ठूलो भीड लागेको थियो । सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने पर्वले देशभर धार्मिक सद्भाव र भाइचाराको सन्देश फैलाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button