प्रहार समाचार । कास्की, ३ बैशाख २०८३ बिहीबार । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केदार खनाल उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन्। उनलाई एक औपचारिक कार्यक्रमका बीच आज सहकर्मीहरूले बिदाई गरे । लामो समय प्रहरी सेवामा सक्रिय भूमिका निर्वाह गरेका खनालको योगदानप्रति कार्यक्रममा उपस्थित अधिकारीहरूले उच्च मूल्यांकन गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र जि.सी.ले खनालले आफ्नो ऊर्जाशील जीवन प्रहरी संगठनको जिम्मेवारी र कर्तव्यमा समर्पित गरेको उल्लेख गर्दै त्यस्तो सेवाभाव संगठनका लागि सधैं स्मरणीय रहने बताए। उनले इमानदारी, अनुशासन र कर्तव्यनिष्ठा खनालको पहिचान बनेको भन्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे।

अवकाशप्राप्त एसएसपी खनालले प्रहरी सेवामा रहँदा पाएको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै संगठनबाट सिकेका अनुभव आगामी जीवनमा मार्गदर्शक बन्ने बताए। तनहुँको व्यास नगरपालिका–११, पोल्याङका स्थायी बासिन्दा खनालले सेवाकालभरि जनताको सुरक्षामा समर्पित भएर काम गरेको स्मरण गर्दै सबैप्रति कृतज्ञता प्रकट गरे।



























