प्रहार समाचार । काठमाडौँ, ३ बैशाख २०८३ बिहीबार । अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह १४औं स्थानमा परेका छन्। हिप–हप कलाकारबाट राजनीतिक नेतृत्वमा उदाएका बालेनको यो उपलब्धिलाई विश्व मञ्चमा नेपाली युवाको उदयका रूपमा हेरिएको छ। तर उनका चुनौतिका पहाडहरू भने ज्यूँ का त्यूँ रहेको छ।

प्रभावशाली नेताको सूचीमा पहिलो स्थानमा पप लियो छन् भने त्यसपछि क्लाउडिया शाइनबाउम , मार्को रुबीयो जस्ता शक्तिशाली नेताहरू क्रमशः शीर्ष स्थानमा छन्। त्यही सूचीमा क्यानडा, चीन, जापान, इसरायललगायत देशका प्रमुखहरूसँगै नेपालका प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) को नाम पनि रहेको छ ।
टाइमले बालेनलाई परम्परागत राजनीतिक संरचना र भ्रष्टाचारविरुद्ध उठेको “युवा विद्रोह” को प्रतीकका रूपमा चित्रण गरेको छ। मेयर रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न उनले प्रशासनिक जटिलता तोड्ने प्रयास गरेको भन्दै प्रशंसा गरिएको छ, जसले उनलाई राष्ट्रिय नेतृत्वसम्म पुर्याउने आधार तयार गरेको उल्लेख छ। तर स्थानीय तहमा देखिएको सफलतालाई राष्ट्रिय स्तरमा दोहोर्याउने चुनौती भने अझै बाँकी रहेको टाइमको विश्लेषण छ। दुपाक शाकुर र फिप्टि सेन्टका प्रशंसक बालेनका विगतका तीखा अभिव्यक्तिसमेत स्मरण गर्दै पत्रिकाले अब उनले आफ्नै भनाइ गलत सावित गर्दै परिणाम देखाउने अपेक्षा नेपाली जनतामा रहेको निष्कर्ष निकालेको छ।



























