प्रहार समाचार । तनहुँ, २ बैशाख २०८३ बुधबार । तनहुँको व्यास नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान भोलि वैशाख ३ गतेदेखि औपचारिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा सम्पन्न नगर शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन, पाठ्यक्रम कार्यान्वयन तथा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले वैशाख ७ गतेदेखि सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ भने संघीय सरकारले तोकेका विशेष भर्ना अभियानका कार्यक्रमहरू वैशाख १५ भित्र सम्पन्न गर्न निर्देशन दिएको छ। यससँगै विद्यालयहरूलाई समयमै शैक्षिक गतिविधि प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरिएको छ ।
त्यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयमा वितरण हुने छात्रवृत्ति र शुल्कसम्बन्धी अवस्थाबारे अध्ययन गर्न नगर शिक्षा अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। साथै, स्वीकृत पाठ्यपुस्तक मात्र लागू गर्न र विद्यालयले स्टेशनरी सामग्री छपाइ तथा बिक्री नगर्न कडा निर्देशन दिँदै सबै विद्यालयलाई पाठ्यपुस्तक सूची सार्वजनिक गर्न समेत भनिएको छ।



























