हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाबाट पत्रकार शंकरराज नहर्की पुरस्कृत : दुई दशकको सक्रिय योगदानको कदर

प्रहार समाचार । तनहुँ, ३० चैत २०८२ सोमबार । तनहुँको दमौलीस्थित व्यास नगरपालिकाले आफ्नो ३४औं स्थापना दिवस २०८२ को अवसरमा पत्रकारिता क्षेत्रमार्फत समाजमा सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेलेका आज पत्रकार शंकरराज नहर्कीलाई नगदसहित सम्मान गरेको छ।

आ.व. २०८१/०८२ मा प्रकाशन भएका समाचार तथा सन्देशमार्फत आम नागरिकसम्म सत्यतथ्य सूचना पुर्‍याउँदै जनचेतना अभिवृद्धिमा योगदान दिएको मूल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ तनहुँका पूर्व उपाध्यक्ष तथा प्रहार अनलाइन मिडियाका सम्पादक नहर्कीलाई नगद १० हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको हो।

दमौलीमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभा सदस्य शुरेस आले मगर, नगर प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र उपप्रमुख इन्दिरा दरै लगायतले संयुक्त रूपमा प्रमाणपत्र र दोसल्ला ओढाएर नहर्कीलाई सम्मान गरेका थिए। विगत दुई दशकदेखि तनहुँको सदरमुकाम दमौलीमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका नहर्कीले स्थानीय मुद्दा, विकास निर्माण र जनसरोकारका विषयलाई निरन्तर उठाउँदै आएका छन्।


कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले स्थानीय तहको सुशासन, पारदर्शिता र विकासका गतिविधि जनतासम्म पुर्‍याउन पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे।

प्रमुख प्रशासकीय अधिकृत लम्सालले निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशामा अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

पुरस्कृत नहर्कीले नगरपालिकाबाट प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउँदै आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा निरन्तर लागिरहने प्रतिबद्धता जनाए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button