काठमाडौं । भारतीय संगीत जगतकी दिग्गज गायिका Asha Bhosle को ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

शनिबार हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनका छोरा आनन्द भोसलेले आमाको निधनको पुष्टि गरेका छन्। पारिवारिक जानकारीअनुसार, उनको अन्तिम संस्कार सोमबार मुम्बईको शिवाजी पार्कमा गरिनेछ।
संघर्षले गढिएको संगीत यात्रा :
सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी आशा, चर्चित गायिका लता मंगेसकरकी बहिनी हुन्। सानै उमेरमा पिताको निधन भएपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले दिदीसँगै गीत गाउन सुरु गरेकी थिइन्। किशोरावस्थामै विवाह, पारिवारिक असन्तुष्टि र वैवाहिक जीवनमा भोग्नुपरेका कठिनाइले उनको जीवन संघर्षपूर्ण बन्यो। सम्बन्धविच्छेदपछि उनले आफूलाई पुनः स्थापित गरिन् र संगीत क्षेत्रमा नयाँ उचाइ हासिल गरिन्।
बहुआयामिक गायन, अमर गीतहरू :
आशा भोसलेले करिब १२ हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन्। उनले हिन्दीसँगै विभिन्न १४ भाषामा गीत गाएर बहुआयामिक प्रतिभा प्रस्तुत गरेकी थिइन्।
‘दम मारो दम’, ‘पिया तु अब तो आजा’ र ‘चुरा लिया है तुमने’ जस्ता उनका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्। उनको स्वरले फिल्मी गीतदेखि गजल, भजन, पप र शास्त्रीय संगीतसम्मको विस्तृत दायरा समेटेको थियो।
नेपाली संगीतमा पनि उत्तिकै लोकप्रिय :
आशा भोसलेले नेपाली संगीतमा पनि उल्लेखनीय योगदान दिएकी छिन्। उनले गाएका थुप्रै नेपाली गीत आज पनि उत्तिकै लोकप्रिय छन्।
उनका चर्चित नेपाली गीतहरू :
गैरी खेतको सिरै हान्यो,
बसन्त नै बस्न खोज्छ यहाँ,
साउने झरीमा,
दियो बाली साँझको,
मोहनी लाग्ला है,
पहाडको माथि घुम्दै उडेर,
किन बढ्दैछ ढुकढुकी,
आज हाम्रो भेट भाको दिन,
एउटा मान्छे मन पर्छ,
यति धेरै माया दियौ,
म प्यार बेची दिन्छु,
तिम्रो मनमा लुकेको कुरा,
मेरो मनको,
माया त माया हो,
लै बरी मेरो मायालु,
को होला मेरो मायालु,
गुराँस फूल्यो वनैभरी
जस्ता गीतहरूले नेपाली श्रोताको मन जितेका छन्।
आरडी बर्मनसँगको सांगीतिक र वैवाहिक सम्बन्ध :
आशा भोसलेको सांगीतिक यात्रामा Rahul Dev Burman सँगको सहकार्य विशेष रूपमा स्मरणीय छ। चलचित्र ‘तीसरी मंजिल’बाट सुरु भएको सहकार्य पछि प्रेममा परिणत भई उनीहरूले वैवाहिक सम्बन्ध कायम गरेका थिए।
राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान :
आशा भोसले ग्रामी अवार्डका लागि मनोनित हुने पहिलो भारतीय गायिका थिइन्। उनले सन् २००० मा Dadasaheb Phalke Award तथा सन् २००८ मा Padma Vibhushan बाट सम्मानित भएकी थिइन्। सन् २०११ मा उनको नाम गिनिज वर्ड रेकर्डमा समेत दर्ज भएको थियो।
एक युगको अन्त्य :
आशा भोसलेको निधनसँगै भारतीय उपमहाद्वीपको संगीत क्षेत्रमा एक युगको अन्त्य भएको छ। उनको स्वर अब नयाँ गीतमा नसुन्निए पनि उनले गाएका हजारौं गीतहरू मार्फत उनी सदैव जीवित रहनेछिन्। – ऐजेननीको सहयोगमा



























