प्रहार समाचार । तनहुँ, २८ चैत २0८२ शनिबार । गाई–भैसीमा देखिने थुनेलो रोगको जोखिम बढ्दै जाँदा तनहुँको भानु नगरपालिकाले प्रत्यक्ष हस्तक्षेप सुरु गरेको छ। भानु नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा वडा नं. ११ रूपाकोटमा निःशुल्क परीक्षण तथा उपचार सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको हो।

मिलिजुली दुग्ध उत्पादक कृषक समूहसँगको सहकार्यमा गरिएको शिविरमा १४ कृषकका १६ वटा गाई–भैसीको दूध नमुना परीक्षण गर्दा १० वटा पशुमा थुनेलो संक्रमण पुष्टि भएको छ। संक्रमण देखिएका पशुका लागि तत्काल बेटाडिन, मास्ट मलम, ग्लिसिरिन, बफरलगायत उपचार सामग्रीसँगै मिनिरल–भिटामिन वितरण गरिएको प्राविधिकहरूले बताएका छन्।
कार्यक्रममा किसानलाई थुनेलो रोगका लक्षण, असर र रोकथामका उपायबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो। दुहुनो समयमा अपनाउनुपर्ने सरसफाइ, थुन उपचार विधि तथा कप प्रयोग गर्ने तरिकाबारे समेत जानकारी गराइएको थियो।
पछिल्लो समय गाई–भैसीमा थुनेलोको प्रकोप बढ्दै जाँदा दूध उत्पादन घट्नुका साथै किसानको लगानी जोखिममा पर्ने अवस्था देखिएको छ। सरसफाइमा लापरवाही र जानकारीको अभाव मुख्य कारण मानिएको छ। रोग लागेपछि लामो समय उपचार गर्नुपर्ने भएकाले रोकथाममै जोड दिन नगरपालिकाले यस्तो कार्यक्रम अघि बढाएको हो।
कार्यक्रम कृषक समूहका अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा तथा वडा अध्यक्ष विमलराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्राविधिकहरू अमित दुंगाना, अनिता बिक, ललिता बुढाथोकी र देवराज भण्डारीसहित स्थानीय कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।
























