प्रहार समाचार । तनहुँ, २८ चैत २०८२ शनिबार । गोरखा दरबारदेखि जितगढीसम्मको ऐतिहासिक एकीकरण पदमार्गमा हिँडिरहेको नेपाली सेनाको पदयात्रा टोली शुक्रबार साँझ तनहुँको भानु नगरपालिका आइपुगेको छ । भानु क्षेत्रको आइपुमा स्वागत गरिएको टोलीले आज (शनिबार) भानु नगरपालिकाका विभिन्न स्थान पार गर्दै बेलुकी तनहुँसुरमा बस्ने योजना बनाएको छ ।

आइतबार भने टोली व्यास नगरपालिकाका विभिन्न स्थान हुँदै चापाघाट पुग्ने तालिका रहेको छ । गोरखाबाट सुरु भएको यात्रा तनहुँ, पाल्पा हुँदै जितगढीमा टुंगिनेछ । यसक्रममा गोरखाबाट आएको टोलीले पालुङटारको सतिघाट हुँदै भानु आइपुगेर तनहुँलाई झण्डा र टर्च हस्तान्तरण गरिसकेको छ । अब तनहुँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई हस्तान्तरण गर्दै अन्तिम टोली वैशाख ६ गते जितगढी पुग्नेछ ।

शुक्रबारबाट सुरु भएको यो पदयात्रा चौथो संस्करण हो । नेपाली सेनाका श्रीनाथ, सबुज, पुरानो गोरख, बर्दवाणी र कालिबक्स कम्पनीका सैनिक सहभागी टोलीमा सेनानी रोशन अधिकारीको कमाण्डमा ३५ जना रहेका छन् । करिब २०७ किलोमिटर दूरी आठ दिनमा पार गर्ने लक्ष्य राखिएको यात्राले ऐतिहासिक एकीकरण अभियानको सम्झना गराउँदै अघि बढिरहेको छ ।

तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीसँग भएको युद्धमा जित हासिल गरेको दिन वैशाख ७ लाई प्रत्येक वर्ष विजय उत्सवका रूपमा मनाइँदै आएको छ । सोही उत्सवमा सहभागी हुन पदयात्रा टोली निर्धारित समयमै जितगढी पुग्ने तयारीमा छ ।
























