हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

तनहुँमा प्रथम टाइगरल्याण्ड दमौली महोत्सव सुरु

प्रहार समाचार । तनहुँ, २७ चैत २०८२ शुक्रबार । टाइगरल्याण्ड युवा क्लवको आयोजनामा प्रथम टाइगरल्याण्ड दमौली महोत्सव आजबाट सुरु भएको छ।

व्यास नगरपालिका–४ स्थित सिमलटारमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास तथा युवाको सक्रिय सहभागितामा यस्ता महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे। उनले स्थानीय स्तरमै रोजगारी सिर्जना र आर्थिक गतिविधि चलायमान बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।


व्यास–४ का वडा अध्यक्ष मानबहादुर गुरुङले महोत्सवले वडाको पहिचान स्थापित गर्न सहयोग पुग्ने बताए। उनले स्थानीय कला, संस्कृति र उत्पादनलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्नु सकारात्मक भएको उल्लेख गर्दै यसको दिगोपनामा जोड दिए।


आजदेखि सुरु भएको महोत्सव २०८३ वैशाख ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। जुडिपानी टोल विकास संस्था, व्यास–४ सह–आयोजक रहेको महोत्सवमा जलपरी नृत्य मुख्य आकर्षणका रूपमा रहनेछ।


महोत्सव आयोजक समितिका संयोजक तथा क्लवका अध्यक्ष विपिन घलेका अनुसार विशुद्ध सामाजिक उद्देश्यका साथ आयोजना गरिएको महोत्सवबाट प्राप्त नाफा खेल मैदान निर्माण तथा युवामा जागरणसम्बन्धी कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ।


महोत्सवमा कृषि उत्पादन, अटोमोबाइल्स लगायतका विभिन्न सामग्रीको प्रदर्शनी राखिएको छ। करिब १०० वटा स्टल समावेश गरिएको आयोजकले जनाएको छ।


आयोजकका सचिव उमेश पौडेलका अनुसार महोत्सवमा करिब ५० लाख रुपैयाँको कारोबार हुने र ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।


महोत्सवमा विद्यार्थीका लागि टिकट शुल्क ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ तोकिएको छ। मौलिक पहिचानलाई विशेष प्राथमिकता दिइएको महोत्सवमा स्थानीय परिकारको स्वाद लिन पाइनेछ भने विभिन्न ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ।


नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको महोत्सवले स्थानीय बजार प्रवर्द्धन र कृषिमा टेवा पुग्ने विश्वास आयोजकले लिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button