प्रहार समाचार । काठमाडौं, २५ चैत २०८२ बुधबार । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ भने कोसी र वाग्मती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान र मधेससहित तराईका थोरै क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले मौसम बदली भई वर्षाको सम्भावना बढेको मौसमविद् रोजन लामिछाने ले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । साथै मधेस, लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा हावाहुरीको जोखिम रहेकाले मौसमअनुसार सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



























