हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाको २३४ औं कार्यपालिका बैठकः स्थापना दिवस, विकास निर्माण प्रगति र फोहोर व्यवस्थापन मुख्य एजेन्डा

प्रहार समाचार । तनहुँ, २४ चैत २०८२ बुधबार । व्यास नगरपालिकाको २३४ औं कार्यपालिका बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले नगरको सेवा प्रवाहदेखि विकास आयोजना, फोहोर व्यवस्थापन र आगामी कार्यक्रमसम्मका विविध विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

बैठकमा उप–प्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकले अघिल्लो (२३३ औं) बैठकका निर्णय, सेवा प्रवाह र दोस्रो चौमासिक सार्वजनिक सुनुवाइबाट आएका सुझावहरूको समीक्षा गरेको जनाएको छ।
नगरपालिकाले आगामी चैत ३० गते ३४ औं स्थापना दिवस दमौलीस्थित सभाहलमा मनाउने निर्णय गरेको छ। सो अवसरमा स्मारिका प्रकाशन, उत्कृष्ट व्यवसायी, करदाता, शिक्षक, विद्यार्थी, किसान र कर्मचारीलाई सम्मान गरिनुका साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।


विकास आयोजनातर्फ पराशर मार्ग ४२ प्रतिशत, नारेश्वर ताल ४७ प्रतिशत र वैरेनी जग्गा विकास ८० प्रतिशत सम्पन्न भएको विवरण बैठकमा प्रस्तुत गरिएको छ। चालु आर्थिक वर्षका ७३८ योजनामध्ये २३४ सम्पन्न, ३९८ सम्झौता सम्पन्न भइसकेका छन् भने १०६ योजना सम्झौता हुन बाँकी रहेका छन्।


आर्थिक पक्षमा हालसम्म कुल ४२.२ प्रतिशत खर्च भएको जानकारी दिइएको छ। आन्तरिक आयतर्फ २० करोड लक्ष्य राखिएकोमा चैत २० गतेसम्म करिब ८ करोड ७६ लाख रुपैयाँ संकलन भएको छ। आय तथा खर्च वृद्धि गर्न विशेष ध्यान दिन बैठकले सम्बन्धित निकायलाई आग्रह गरेको छ।


फोहोर व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदमा संघीय सरकारबाट अनुमति नआएकाले हाल प्रयोग भइरहेको स्थान भरिन लागेको भन्दै ३ देखि १० वर्षका लागि वैकल्पिक अस्थायी स्थान खोज्न ७ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको छ।


त्यसैगरी, स्थानीय तह निर्वाचनअघि वडा सीमाना हेरफेरका लागि आवश्यक प्रस्ताव माग गर्न नगरवासीलाई सार्वजनिक सूचना जारी गरिने भएको छ। बैठकले चैत २८ गतेदेखि दमौलीमा अन्तरपालिका खुल्ला भलिवल प्रतियोगिता (पुरुष र महिला) सञ्चालन गर्ने निर्णय पनि गरेको छ। प्रतियोगितामा प्रथम पुरस्कार क्रमशः १ लाख र ७५ हजार रुपैयाँ रहनेछ। साथै, आगलागी, हावाहुरी लगायत विपद्का घटनामा सतर्कता अपनाउन र आपत्कालीन सूचना नगरपालिकाको २४ सै घण्टा सञ्चालन हुने फोन नम्बर ०६५–५६३०३४ मा जानकारी गराउन नगरवासीलाई आग्रह गरिएको छ।


नगरपालिकाबाट यस वर्ष अवकाश लिन लागेका कर्मचारीलाई धन्यवाद दिँदै नियमानुसार सुविधा उपलब्ध गराउन निर्देशन दिने निर्णयसमेत गरिएको प्रवक्ता सुरेश थापाले जानकारी दिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button