प्रहार समाचार । तनहुँ, २३ चैत २०८२ सोमबार । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ, तनहुँ जिल्ला शाखाको अध्यक्षमा भानु चापागाईं सर्वसम्मत निर्वाचित भएका छन् । दमौलीमा आज सम्पन्न संघको तेस्रो जिल्ला अधिवेशन तथा भेलाले चापागाईंको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यक्रममा बोल्दै प्रदेश आयुर्वेद चिकित्सालयका प्रमुख डा. नारायण श्रेष्ठले आयुर्वेदिक उपचारप्रति सर्वसाधारणको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सेवा र औषधिको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रममा आयुर्वेद निरीक्षक भोजहरी रानाभाट र सोमकान्त पौडेल, संघका सदस्य मीनबहादुर लामिछाने लगायतले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा दीपक भट्टराई, कोषाध्यक्षमा किशोर पन्त, सह–सचिवमा जीवनकुमार बिक र सदस्यमा मीनबहादुर लामिछाने चयन भएका छन् । अन्य सदस्यहरू पछि मनोनयन गरिने जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष चापागाईंले आयुर्वेद औषधि व्यवसायलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।


























