प्रहार समाचार । तनहुँ, २३ चैत २०८२ सोमबार । तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका ऐतिहासिक पदमार्गको प्रवर्द्धन तथा कोट, गढी र किल्लाहरूको संरक्षण गर्ने उद्देश्यले गोरखा–जितगढी एकीकरण पदयात्रा सञ्चालन हुने भएको छ।

नेपाली सेनाका अनुसार पदयात्रा यही चैत २७ गतेबाट सुरु भई आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ। गोरखास्थित रुद्रध्वज गणका गणपति प्रमुख सेनानी विरोध रिजालले पदयात्रा ऐतिहासिक मार्ग हुँदै गोरखाबाट तनहुँ, पाल्पा हुँदै जितगढीसम्म पुग्ने जानकारी दिए।
चैत २७ गते गोरखाबाट सुरु हुने पदयात्रा सोही दिन करिब ३५ किलोमिटर दूरी पार गर्दै तनहुँको भानुस्थित सतिघाट हुँदै भद्रदल गणसम्म पुग्नेछ। उक्त अवसरमा रुद्रध्वज गणले पदयात्राको झण्डा भद्रदल गणलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको भद्रदल गणका गणपति प्रमुख सेनानी गौरवसिंह क्षेत्रीले बताए।
चैत २८ गते टोली तनहुँकै भिमसेनगढी, बाङ्गेरह, सेपाबगैँचा र टुहुरेपसल हुँदै तनहुँसुर पुग्नेछ। तनहुँसुरमा कालीभञ्जन गण (ई) लाई झण्डा हस्तान्तरण गरिनेछ। त्यसपछि टोली धेनुङ देउराली पुग्नेछ, जहाँ श्री नम्बर ३ राजदल गणलाई झण्डा बुझाइने कार्यक्रम रहेको कालीभञ्जन गणका गणपति प्रमुख सेनानी हरि खड्काले जानकारी दिए।
धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेपछि झण्डा श्री दी फेमस महेन्द्रदल गणलाई हस्तान्तरण गरिनेछ। त्यसपछि टोली नुवाकोटगढी पुग्दा तारा दल गणलाई झण्डा सुम्पिने कार्यक्रम छ। अन्तिम दिन वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जितगढी पुग्नेछ।
पदयात्रामा बाजागाजा, राष्ट्रिय झण्डासहित एकीकरणका क्रममा स्थापना भएका पाँच कम्पनी—श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज—का साथै जितगढी युद्धमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिने नेपाली सेनाले जनाएको छ।
गोरखादेखि जितगढीसम्मको दूरी करिब ३०५ किलोमिटर रहेको छ। नेपाली सेनाले ऐतिहासिक धरोहरको संरक्षण र प्रचारका लागि हरेक वर्ष गोरखा–जितगढी पदयात्रा आयोजना गर्दै आएको छ।


























