प्रहार समाचार । काठमाडौँ, २३ चैत २०८२ सोमबार । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमसहित देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत देखिएको छ । सोमबार दिउँसो पनि देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै, आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


























