प्रहार समाचार । कास्की, २३ चैत २०८२ सोमबार । नेपाली लेखक संघ कास्कीको अध्यक्षमा कमल पौडेल ‘अथक’ सर्वसम्मत निर्वाचित भएका छन्। संघको हिंजो भएको छैटौं अधिवेशनले पत्रकारितामा समेत सक्रिय रहेका पौडेललाई नेतृत्वको जिम्मेवारी दिएको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल चयन भएका छन्। निर्वाचन समितिका संयोजक लक्ष्मण थापा तथा सदस्यहरू हीममाया पौडेल र अमृत क्षेत्रीले नयाँ नेतृत्व घोषणा गरेका हुन्।
समितिका बाँकी सदस्य तथा सल्लाहकारहरू भने आगामी बैठकबाट चयन गरिने अध्यक्ष ‘अथक’ले जानकारी दिएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति र सल्लाहकारहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् भने निवर्तमान कार्यसमितिले बैठक पुस्तिका हस्तान्तरण गरेको छ।
यसअघि अधिवेशन उद्घाटन कार्यक्रममा सल्लाहकार प्रा. डा. लक्ष्मीशरण अधिकारीले लेखक संघ लोकतन्त्रवादी लेखक–साहित्यकारहरूको साझा थलो भएको उल्लेख गर्दै वर्तमान जटिल परिस्थितिमा सिर्जनात्मक भूमिकाको आवश्यकता औंल्याए। कार्यक्रम संघका अध्यक्ष रीता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो, जहाँ केन्द्रीय उपाध्यक्ष इश्वरमणि अधिकारी, प्रदेश अध्यक्ष दीपक समीप, उपाध्यक्ष कमल पौडेल ‘अथक’ र सचिव सञ्जय न्यौपाने प्राञ्जलले पनि मन्तव्य व्यक्त गरेका थिए।


























