• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, २२ चैत २०८२ आईतबार । गाई काटेको आरोपमा लमजुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेंसीसहर नगरपालिका–६ चनौटे राउतगाउँबाट ३० वर्षीय प्रेम तामाङ र ४९ वर्षीय टासी तामाङ पक्राउ परेका हुन्। उनीहरू धादिङको रुवीभ्याली गाउँपालिका–८ का स्थायी बासिन्दा भए पनि हाल उक्त स्थानमा डेरा गरी बस्दै आएका थिए।

प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार बिहीबार अपराह्न करिब ४ बजे प्राप्त सूचनाका आधारमा प्रहरी टोली खटिएर दुवै जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै जनाविरुद्ध पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत लमजुङबाट शुक्रबार ५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।



























