हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

प्रहार समाचार । तनहुँ, २० चैत २०८२ शुक्रबार । व्यास नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ तनहुँको समन्वयमा शुक्रबार व्यास–७ कलेस्तीमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय बासिन्दाले विकास, सेवा प्रवाह र दैनिक जीवनसँग जोडिएका विभिन्न समस्या तथा गुनासा प्रस्तुत गरेका थिए।


व्यास–७ का शम्शेरबहादुर कुँवरले गाउँमा बाँदरको आतङ्क बढ्दै गएको भन्दै नियन्त्रणका लागि पहल गर्न माग गरे। बलबहादुर रानाले राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण गर्न तथा वडाबाट विनियोजन भएको बजेटको भुक्तानी प्रक्रिया समेत सहज बनाउनुपर्ने धारणा राखे।

स्थानीय सीता नेपालीले तालिम पाए पनि उद्यमी बन्न पर्याप्त सहयोग नपाएको गुनासो गर्दै उद्यमशीलता प्रवद्र्धनमा नगरपालिकाले ध्यान दिनुपर्ने बताइन्।

व्यास–१० गणेशटोल विकास संस्थाका अध्यक्ष श्रीराम कुँवरले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच एकैपटक व्यवस्थित रूपमा गर्न आग्रह गर्दै बैरेनी जग्गा एकीकरण आयोजनाका समस्या समाधान गर्न ध्यानाकर्षण गराए।


व्यास–६ का बामदेव पण्डितले आस्थाका आधारमा बजेट विनियोजनमा विभेद नगर्न माग गरे भने व्यास–९ माझफाँटका नारायण न्यौपानेले कुहिने फोहरलाई मलका रूपमा प्रयोग गर्ने र प्लास्टिक तथा सिसाजन्य फोहर व्यवस्थापनका लागि हप्तामा कम्तीमा एक दिन सवारी व्यवस्था गर्नुपर्ने बताए।

त्यसैगरी, व्यास–७ की सीता गुरुङले वडाले विकास निर्माणमा अपेक्षित प्राथमिकता नदिएको गुनासो गरिन्। स्थानीय देवी परियार र विजय गिरीले पनि आफ्ना समस्या तथा सुझाव राखेका थिए।

कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उठेका गुनासाहरू सम्बोधन गर्दै बाँदर नियन्त्रण राष्ट्रियस्तरकै समस्या भएको उल्लेख गरे। उनले यसअघि गरिएका प्रयास पर्याप्त नभएको स्वीकार गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता जनाए। साथै सेवा प्रवाहलाई सहज, पारदर्शी र उत्तरदायी बनाउने तथा नागरिकका गुनासा प्राथमिकतामा राखिने बताए।

उपप्रमुख इन्दिरा दरैले सार्वजनिक सरोकारका विषयमा स्थानिय जनताले चासोका साथ नगरपालिकाका हरेक विषयमा प्रश्न गर्दै समुन्नत नगर निर्माणमा साथ दिन आग्रह गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालु आर्थिक वर्षमा सम्पन्न योजना, खर्च विवरण र उपलब्धिहरू सार्वजनिक गरेका थिए।

कार्यक्रममा व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, व्यास–६ का जीवन गुरुङ, व्यास–७ का कृष्णप्रसाद न्यौपाने र व्यास–९ का सुरेश थापालगायतले सहभागीका जिज्ञासाको जवाफ दिएका थिए।

विभिन्न वडाका अध्यक्ष, शाखा प्रमुख तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा पत्रकार शंकरराज नहर्की र सन्त नेपालीले पाँच वडामा गरिएको सेवा सम्बन्धी सर्वेक्षण प्रतिवेदन महासङ्घका कोषाध्यक्ष पूर्ण विकले प्रस्तुत गरेका थिए।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले गरेका थिए।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button