प्रहार समाचार । तनहुँ, २० चैत २०८२ शुक्रबार । बन्दीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा र मध्य नेपाल ब्रोडकास्टिङ प्रा.लि.को सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका योजना, सेवा प्रवाहको अवस्था, पारदर्शिता तथा नागरिकका गुनासा र सुझाव संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको जनाएको छ। स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत लिइएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले गाउँपालिकाका गतिविधिलाई पारदर्शी बनाउन र नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न प्रत्येक वर्ष तीन पटक सार्वजनिक सुनुवाइ गर्ने गरिएको जानकारी दिए। सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष, वडाध्यक्षहरू, शाखा प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँपालिकाका सबै ६ वडाबाट संकलन गरिएको नागरिक प्रतिवेदन, बहिर्गमन अभिमत, स्थानीय समस्या, गुनासा तथा सुझावहरू प्रस्तुत गरिएको थियो। सुनुवाइका क्रममा सहभागीहरूले विकास योजना कार्यान्वयनमा देखिएका झन्झट हटाउनुपर्ने, स्वीकृत योजना समयमै सम्पन्न गर्नुपर्ने तथा तीनधारामा खेलकुद पूर्वाधार विकास गर्नुपर्ने माग गरेका थिए। त्यसैगरी ऐलानी जग्गामा बनेका संरचनाको वैधानिकता, बन्दीपुर–३ मा निर्माणाधीन ‘आमासँग भवन’को बजेट निकासामा अन्योल, “एक वडा एक प्राविधिक” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विषयमा समेत प्रश्न उठाइएको थियो।

सहभागीहरूले विवरणहरू लिखित रूपमा वितरण गर्नुपर्ने, होमस्टे सर्किट प्रवर्द्धन, मुख्य गाउँ जोड्ने सडक कालोपत्रे, शिक्षा तथा स्वास्थ्य सेवा सुधार, विपन्न नागरिकको उपचार सहयोग र चिस्यान केन्द्र स्थापना गर्नुपर्ने सुझाव पनि दिएका थिए।
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरी, वडा नं. २ का वडाध्यक्ष लोकबहादुर कुँवर, वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसी र गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सम्बन्धित विषयमा प्रष्टिकरण दिएका थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले समेत आफ्ना धारणा, सुझाव र गुनासा राखेका थिए। कार्यक्रमको निष्कर्षमा सहभागीहरूले यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने बताएका थिए। गाउँपालिका अध्यक्ष थापाले प्राप्त सुझावहरूलाई आगामी योजना तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



























