हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँका २२ केन्द्रमै एसइई उत्तरपुस्तिका परीक्षण सुरु

प्रहार समाचार । तनहुँ, २० चैत २०८२ शुक्रबार । हिंजोबाट सुरु भएको यस वर्षको एसइई परीक्षाको उत्तर पुस्तिका परिक्षण गर्ने काम पहिलो पटक तनहुँमा भोलिपल्टै अर्थता आजबाट सुरू भएको छ । जिल्लामा २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार काम अघि बढाइएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी भरत बरालका अनुसार प्रत्येक उत्तरपुस्तिका तीन दिनभित्र जाँच सक्ने गरी व्यवस्थापन मिलाइएको छ । उत्तरपुस्तिका परीक्षणका लागि फरक–फरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको छ भने निष्पक्ष र पारदर्शी बनाउन सुरक्षा तथा अनुगमन व्यवस्था कडा पारिएको इकाइले जनाएको छ ।


यस वर्ष तनहुँबाट कूल ६ हजार १५५ परीक्षार्थी एसइईमा सहभागी भएका छन् । तीमध्ये नियमिततर्फ ४ हजार ९४० र ग्रेडवृद्धितर्फ १ हजार २१५ जना रहेका छन् । जिल्लाका १७४ विद्यालयका विद्यार्थीका लागि २२ केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको हो । व्यास, देवघाट, बन्दीपुर, आँबुखैरेनी, भिमाद, ऋषिङ र घिरिङ लगायत क्षेत्रका विद्यालयहरूमा केन्द्र कायम गरी जनशक्ति परिचालन गरिएको छ ।


प्रत्येक केन्द्रमा दुई जना विषय विशेषज्ञबाट उत्तरपुस्तिका जाँच भइरहेको र पारदर्शिताका लागि सम्परीक्षकको समेत व्यवस्था गरिएको छ । शिक्षकलाई पूर्वप्रशिक्षण दिई जाँच र पुनः जाँच दुवै प्रक्रिया लागू गरिएको बरालले बताउनुभयो । केन्द्रमै जाँच सुरु भएपछि नतिजा छिटो आउने, नयाँ शैक्षिक सत्र समयमै सञ्चालन हुने र ब्रिज कोर्स तथा ट्युशनमा निर्भरता घट्ने अपेक्षा गरिएको इकाइले जनाएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button