प्रहार समाचार । तनहुँ, १७ चैत २०८२ सोमबार । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसका अवसरमा महासंघ तनहुँ शाखाले ६ जना पत्रकारलाई विभिन्न स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै सम्मान गरेको छ। जिल्लामा क्रियाशील पत्रकारहरूको योगदानको कदर गर्दै आयोजित कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गरिएको हो।

व्यास–४ निवासी भाग्यशाली ढुंगानाद्वारा स्थापित सोमबार टिकानिधि ढुंगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार–२०८२ सहित अन्य पाँच वटा स्मृति पत्रकारिता पुरस्कारमार्फत ६ जना पत्रकार पुरस्कृत भएका हुन्। रणबहादुर गुरुङद्वारा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट निवर्तमान अध्यक्ष उज्वल पौडेल, प्रदीप काफ्लेद्वारा स्थापित पुरुषोत्तम काफ्ले स्मृति पत्रकारिता पुरस्कारबाट पूर्व कार्यसमिति सदस्य श्रीहरि पौडेल, उत्तम र सुमन भट्टराईद्वारा स्थापित हरिभक्त भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट संघीय परिषद् सदस्य राजकुमार श्रेष्ठ ‘विवि’ पुरस्कृत भए।

त्यसैगरी, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित चिरञ्जिवी हरिमाया स्मृति पत्रकारिता पुरस्कारबाट पूर्व सहसचिव मिला दरै तथा मुक्तिनाथ खनालद्वारा स्थापित भवानी खनाल स्मृति पत्रकारिता पुरस्कार–२०८२ बाट पूर्व उपाध्यक्ष नारायण खड्का सम्मानित भए।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पत्रकारिता समाजको ऐना भएकाले सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिनुपर्ने बताए। उनले विकास, सुशासन र पारदर्शितामा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले लोकतन्त्र सुदृढ बनाउन पत्रकारिता क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउँदै जिम्मेवार र विश्वसनीय सूचना प्रवाहमा ध्यान दिन आग्रह गरे।

वरिष्ठ अधिवक्ता तथा महासंघका पूर्व सदस्य कमलामोहन वाग्लेले पत्रकारितामा नैतिकता र अनुशासन अपरिहार्य रहेको धारणा राखे।

महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले पुरस्कारले पत्रकारहरूलाई थप प्रेरित र जिम्मेवार बनाउने विश्वास व्यक्त गर्दै पेशागत हकहित र क्षमता अभिवृद्धिमा महासंघ प्रतिबद्ध रहेको बताए। कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू ओमकार आचार्य, डम्बरबहादुर अधिकारी, प्रकाशचन्द्र भट्टराई, उज्वल पौडेल, सल्लाहकार नारायण खड्का, उपाध्यक्ष प्रताप राना लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजिकरण सचिव कृष्ण न्यौपानेले गरेका थिए।

























