प्रहार समाचार । तनहुँ, १६ चैत २०८२ सोमबार ।
देवघाट गाउँपालिकामा बजेट निर्माणदेखि सेवा प्रवाहसम्म ‘जनताको आवाज’ केन्द्रमा राख्ने अभ्यासलाई अझ सशक्त बनाउने प्रतिबद्धता दोहोरिएको छ। सार्वजनिक सुनुवाईमार्फत जनप्रतिनिधि र कर्मचारीले एकै ठाउँमा उभिएर कामको समीक्षा गर्दा अधिकांश सेवाग्राही सन्तुष्ट देखिए पनि आन्तरिक राजश्व संकलन कमजोर रहँदा विकासमा चुनौती थपिएको औंल्याइएको छ।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजना र गाउँपालिकाको सहयोगमा वडा नं. २ व्यागनमा आइतबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले पालिकावासीको मागअनुसारका योजनालाई प्राथमिकता दिँदै बजेट निर्माण भइरहेको स्पष्ट पारे। उनले योजनाको प्रभावकारी र पारदर्शी कार्यान्वयनका लागि सेवाग्राही र कर्मचारीबीचको समन्वय अनिवार्य रहेको बताए। “हामी जनताका प्रतिनिधि हौं, जुनसुकै बेला जनताको सेवामा खटिनु हाम्रो कर्तव्य हो,” उनले भने।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले कर्मचारीलाई ‘शासक होइन, सेवक’ भन्ने भावनासहित काम गर्न निर्देशन दिइएको जानकारी दिए। उनले कृषि, पर्यटन, पूर्वाधार र शिक्षामा प्रगति देखिए पनि न्यून आन्तरिक राजश्वले योजनाको कार्यान्वयनमा असर पारिरहेको बताए।

सार्वजनिक सुनुवाईकै क्रममा गरिएको सर्वेक्षणले गाउँपालिकाको सेवा प्रवाहप्रति ८२ प्रतिशत सेवाग्राही पूर्ण सन्तुष्ट रहेको देखाएको छ भने बाँकी १८ प्रतिशतले सेवा ‘ठिकै’ रहेको बताएका छन्। ६४ पुरुष र ३६ महिला गरी १ सय जनामाझ गरिएको सर्वेक्षण नेपाल पत्रकार महासंघका अध्यक्ष डिपी अधिकारी र पत्रकार पूर्ण विकेले गरेका हुन्।

कार्यक्रममा स्थानीयवासीले प्रविधिमैत्री शिक्षा, आधुनिक पशुपालन र सेवा प्रवाहको गुणस्तरबारे जिज्ञासा राखेका थिए। सम्बन्धित शाखाका अधिकृतहरूले आधुनिक प्रविधि अपनाउँदै सेवा सुधार गर्ने प्रतिबद्धता जनाए।
देवघाटलाई धार्मिक, पर्यटन र कृषि क्षेत्रको नमुना गन्तव्य बनाउने लक्ष्यसहित अघि बढिरहेको जनप्रतिनिधिहरूको दाबीबीच, जनताको प्रत्यक्ष सहभागिताबाट नीति र कार्यक्रम सुधार गर्ने संकेत सार्वजनिक सुनुवाईले दिएको छ ।
























