प्रहार समाचार । काठमाडौँ, १३ चैत २०८२ शुक्रबार । पटक–पटक सरकार फेरिने, गठबन्धन भत्किने र विकासभन्दा सत्ता जोगाउने खेल हाबी हुँदै आएको नेपाली राजनीतिमा अब नयाँ मोड सुरु हुने देखिने भएको छ । यही पृष्ठभूमिमा बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट दुईतिहाइ नजिकको बहुमतसहित उनी सत्ताको नेतृत्वमा उक्लिन लागेका हुन् । आज १२ बजेर ३४ मिनेको साइतमा बैदिक परम्परा अनुसार राष्ट्रपति कार्यालयमा शपथग्रहण हुने तयारी पूरा भएको छ, जसलाई धेरैले ‘अस्थिर राजनीति अन्त्यको अवसर’ का रूपमा हेरिरहेका छन् ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ८२ सांसदसहित रास्वपा एक्लै निर्णायक अवस्थामा पुगेको छ । संविधानको धारा ७६(१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा शाह प्रधानमन्त्री बन्नेछन् र विश्वासको मत लिनुपर्ने छैन । विगतमा बहुमत अभावकै कारण सरकार ढल्ने, सत्ताको खेल चल्ने र नीति कार्यान्वयन अल्झिने प्रवृत्ति दोहोरिँदै आएको थियो । यसपटक भने स्पष्ट बहुमतका कारण निर्णय क्षमता बलियो हुने अपेक्षा गरिएको छ ।
शाह नेतृत्वले ‘सानो तर प्रभावकारी’ मन्त्रिपरिषद् बनाउने रणनीति अघि सारेको छ । प्रधानमन्त्रीसहित करिब १६ सदस्यीय क्याबिनेट बनाउने, मन्त्रालय गाभेर कामलाई चुस्त बनाउने र एक तिहाइ महिला सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । पर्यटन–उद्योग तथा भौतिक पूर्वाधार–सहरी विकास जस्ता मन्त्रालय एउटै मन्त्रीलाई दिने गरी छलफल चलिरहेको छ, जसलाई कामको गति बढाउने प्रयोगका रूपमा हेरिएको छ ।
तर सरकार गठन प्रक्रिया भने अत्यन्तै गोप्य ढंगले अघि बढिरहेको छ । मन्त्री चयनदेखि प्राथमिकता निर्धारणसम्म सीमित नेताबीच मात्रै छलफल भइरहँदा पार्टीभित्रै पारदर्शितामाथि प्रश्न उठ्न थालेका छन् । अब मुख्य प्रश्न भनेको यही हो—के यो शक्तिशाली बहुमतले विगतको अस्थिरता अन्त्य गर्दै परिणाममुखी शासन दिन्छ, वा शक्ति केन्द्रीकरणकै नयाँ बहस सुरु हुन्छ ? यसको उत्तर अबको काम र प्रदर्शनले तय गर्नेछ ।



























