हेडलाईनसमाचारगण्डकीविजनेसशुक्लागण्डकी

शुक्लागण्डकी महोत्सवमा आज लाइभ कन्सर्ट हुने

प्रहार समाचार । तनहुँ, ९ चैत २०८२ सोमबार । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौँ शुक्लागण्डकी महोत्सव आज साँझ विशेष सांगीतिक माहोलमा डुब्ने भएको छ । दिनभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतीसँगै चहलपहल बढेको महोत्सवमा साँझ भने लाइभ कन्सर्टमार्फत दर्शकलाई झन् उत्साहित बनाइने तयारी गरिएको हो ।


बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुला चौरमा भइरहेको महोत्सवमा आज राजन कार्की, कृष्ण गुरुङ, सरस्वती लामिछाने, शिव शर्मा लगायतका कलाकारले दिउँसो आफ्नो प्रस्तुती दिने कार्यक्रम तय गरिएको छ । कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर श्रेष्ठका अनुसार विविध सांगीतिक प्रस्तुतिले दिनभर नै महोत्सवलाई रौनक बनाउनेछ भने साँझ ‘भियोमा’को लाइभ कन्सर्ट मुख्य आकर्षण रहनेछ । कन्सर्ट व्यवस्थापन उपसमिति संयोजक सुमन सापकोटाले साँझको कार्यक्रम दर्शकमाझ विशेष आकर्षण हुने बताए ।


“आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मूल नारासहित सञ्चालन भइरहेको महोत्सव चैत १७ गतेसम्म चल्नेछ । महोत्सवमा लाइभ कन्सर्टसँगै बाल उद्यान, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलको पदयात्रा, कौरा नृत्य, रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता जस्ता कार्यक्रम समावेश गरिएको मूल संयोजक समुद्रराम श्रेष्ठले जानकारी दिए ।


त्यस्तै पालिकास्तरीय भलिबल प्रतियोगिता, टिकटक तथा रिल्स प्रतियोगिता पनि यसपटकको नयाँ आकर्षणका रूपमा राखिएको प्रवक्ता सुजन श्रेष्ठले बताए । महिला उद्यमी विकास समिति र वडा व्यवस्थापन समितिहरूको सह–आयोजनामा भइरहेको महोत्सवमा घरेलु उत्पादन, कृषि, व्यवसाय, रेष्टुरेन्ट, सामाजिक संस्था, सूचना केन्द्र र स्वास्थ्य शिविरसहित १ सय ७५ स्टल राखिएका छन् । महोत्सवले स्थानीय व्यापार प्रवर्द्धनसँगै सांस्कृतिक जगेर्नामा टेवा पुग्ने आयोजकको विश्वास छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button