प्रहार समाचार । काठमाडौँ, ३० फागुन २०८२ शनिबार । देशभर हाल न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले वाग्मती, गण्डकी र कोसी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका केही पहाडी क्षेत्र र वाग्मती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै कोसी प्रदेशको तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा भने केही स्थानमा हिमपातको सम्भावना रहेको छ।
राति देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
























