प्रहार समाचार । तनहुँ, ११ फागुन २०८२ सोमबार । तनहुँ क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातिँदै जाँदा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले आफूलाई नेपाली कांग्रेसमा ल्याउन मेयर र प्रदेश सांसदसम्मको जिम्मेवारी दिने प्रस्ताव गरिएको भन्ने चर्चा पूर्ण रूपमा झुटो र आधारहीन भएको स्पष्ट पारेका छन्। उनले यस प्रकारका हल्लाले मतदाता र सरोकारवालालाई भ्रमित पार्ने काम भइरहेको भन्दै आपत्ति जनाएका हुन्।

जोशीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसका कुनै नेता वा उम्मेदवारसँग आफ्नो पार्टी प्रवेश, पद बाँडफाँड वा राजनीतिक लेनदेनबारे न त औपचारिक, न त अनौपचारिक कुनै छलफल भएको छ। “मसँग कुनै प्रस्ताव आएको छैन, कुनै वार्ता भएको छैन,” उनले स्पष्ट पारे। घरदैलो कार्यक्रमका क्रममा आफूलाई पार्टीमा आउन आग्रह गरिएको भन्ने प्रचार कपोलकल्पित मात्र भएको उनको दाबी छ।
उनले विगतमा कांग्रेसको केन्द्रीय कार्यसमितिले ‘पहिले पार्टीका उम्मेदवारलाई जिताएपछि मात्र भूमिकाबारे छलफल गर्ने’ निर्णय गरेको स्मरण गराउँदै त्यसलाई लोकतान्त्रिक अभ्यास नभई रणनीतिक दबाबको संज्ञा दिए। जनताको मतलाई सर्तसँग बाँधेर राजनीतिक अस्तित्व तय गर्ने सोच स्वीकार्य नहुने भन्दै उनले त्यसबेला नै यस्तो प्रस्ताव अस्वीकार गरेको बताएका छन्।
जोशीले पछिल्ला दिनमा फेरि उही विषयलाई उचालेर भ्रम सिर्जना गर्न खोज्नु मतदातालाई अन्योलमा पार्ने प्रयास मात्र भएको आरोप लगाए। “राजनीति छलकपट, झुटा आश्वासन र उधारो लेनदेनबाट चल्दैन,” उनले भने, “राजनीतिक विश्वास पारदर्शिता, सिद्धान्त र जनताको सम्मानमा आधारित हुनुपर्छ।”
आफू विगत २० वर्षदेखि स्वच्छ, वैकल्पिक र जनमुखी राजनीतिको पक्षमा निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै जोशीले आगामी दिनमा पनि यो लडाइँ नरोकिने स्पष्ट पारे। निर्वाचन नजिकिँदै जाँदा यस्ता भ्रामक प्रचार अझ बढ्ने संकेत गर्दै उनले मतदाता र शुभचिन्तकलाई विचलित नहुन आग्रह गरे।
विज्ञप्तिको अन्त्यमा जोशीले तनहुँ क्षेत्र नम्बर–१ का सम्पूर्ण मतदातालाई अफवाह र गलत सूचनाबाट टाढा रहँदै सत्यतथ्यको आधारमा विवेकपूर्ण निर्णय लिन अनुरोध गरेका छन्। उनले आफ्नो चुनाव चिन्ह ‘कैंची’मा मतदान गर्न आग्रह गर्दै राजनीति पद वा अवसरका लागि होइन, परिवर्तन र जिम्मेवार नेतृत्वका लागि भएको दोहोर्याएका छन्।



























