हेडलाईनसमाचारप्रदेश

भौतिक चुनाव चिन्ह बोकेर चुनाव प्रचार गर्न नपाइने : प्रचार गरेको पाइए तत्काल कारबाही गरिने

प्रहार समाचार । काठमाडौँ, १० फागुन २०८२ आइतबार । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरुपका चुनाव चिन्ह बोकेर हिँड्ने गतिविधिले सुरक्षा जोखिम बढाएको भन्दै निर्वाचन आयोग, नेपालले त्यस्तो अभ्यास नगर्न कडा निर्देशन दिएको छ।

आयोगले आज एक प्रेस विज्ञप्ति मार्फत धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका चुनाव चिन्ह प्रयोग गरी जुलुस, सभा तथा भीडभाडमा प्रचार गर्दा सार्वजनिक शान्ति भङ्ग हुने गुनासो बढेपछि सबै राजनीतिक दल र उम्मेदवारलाई सचेत गराएको हो। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ ले निर्वाचन चिह्न निर्धारण र प्रयोगसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ। निर्देशिकाको दफा ४३ अनुसार दल र स्वतन्त्र उम्मेदवारलाई अनुसूची–३० र ३१ बमोजिमका चुनाव चिन्ह मात्र प्रदान गरिने र निर्वाचन आचारसंहिता, २०८२ को दफा १३(ड) ले झण्डा तथा चुनाव चिन्हको मापदण्ड तोकेको छ। सो मापदण्डअनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका चुनाव चिन्ह प्रयोग गर्न पाइने भए पनि भौतिक र कडा संरचनाका चुनाव चिन्ह प्रयोग गर्न नपाइने आयोगको स्पष्टता छ।


आयोगले तोकिएको मापदण्ड विपरीत भौतिक स्वरुपका चुनाव चिन्ह प्रयोग गरी प्रचारप्रसार गरेको पाइए निर्वाचन आचारसंहिता उल्लङ्घन ठहरिने र कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सबै दल र उम्मेदवार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले नियमको पूर्ण पालना गर्न सरोकारवाला सबैमा आग्रह गरेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा) का नेता तथा कार्यकर्ताहरुले चुनाव प्रचारप्रसार गर्ने क्रममा चुनाव चिन्ह धातुबाट बनेको वस्तु नै लिएर हिँडेपछि आयोगले उक्त कडाई गरेको विश्लेषकहरूको भनाइ रहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button