प्रहार समाचार । तनहुँ, १० फागुन २०८२ आइतबार । तनहुँको व्यास नगर कार्यपालिकाको नियमित बैठकले चालु आर्थिक वर्षको बजेट खर्च कमजोर रहेको स्वीकार गर्दै सेवा प्रवाह सुधार्ने निर्णय आज गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न २३२ औँ बैठकमा नगरको प्रशासनिक, आर्थिक र कार्यक्रमगत अवस्थामाथि विस्तृत समीक्षा गरिएको हो।

बैठकमा अघिल्लो बैठकका निर्णय र नगरपालिकाबाट प्रवाह भइरहेका सेवाको समीक्षा गरिएको छ। दोस्रो त्रैमासिकमा शाखा प्रमुख र वडा सचिवहरूले पेश गरेका प्रतिवेदनबाट कर्मचारीको जिम्मेवारीमा केही सुधार देखिए पनि सेवा प्रवाहमा अझै कमजोरी रहेकाले आगामी दिनमा कामको गति बढाउन र ढिलासुस्ती हटाउन सम्बन्धित शाखालाई कडाइका साथ निर्देशन दिने निर्णय गरिएको छ।
गरिब घरपरिवार पहिचान कार्यक्रमलाई पनि बैठकले प्राथमिकतामा राखेको छ। यस क्रममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक धिरज गिरीले प्रस्तुत गरेको तथ्याङ्कीय विश्लेषणको समीक्षा गर्दै नगरभित्र वास्तविक गरिब परिवार पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाउन प्रशासनलाई निर्देशन दिइएको छ। बैठकमा नगरपालिकाको आर्थिक अवस्था सार्वजनिक गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि संशोधित १७ अर्ब २५ करोडभन्दा बढीको बजेटमध्ये हालसम्म जम्मा ३५.३५ प्रतिशत मात्र खर्च भएको जानकारी दिइयो। चालुतर्फ खर्च करिब ४९ प्रतिशत भए पनि पूँजीगततर्फ १८ प्रतिशतभन्दा केही माथि मात्र खर्च हुनुले विकास निर्माणका काम सुस्त रहेको संकेत गरेको छ। यस्तै, २० करोड रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म करिब साढे सात करोड रुपैयाँ मात्र उठेको तथ्य बैठकमा सार्वजनिक गरियो।

यस्तै, बैठकले व्यास नगरपालिकाको ३४ औँ स्थापना दिवस २०८२ चैत ३० गते विभिन्न कार्यक्रमसहित मनाउने निर्णय गरेको छ। नगर प्रमुखको संयोजकत्वमा मूल समारोह समिति, उपप्रमुखको संयोजकत्वमा पुरस्कार तथा सम्मान सिफारिस समिति तथा नगर शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ‘व्यासनगर दर्पण २०८२’ प्रकाशन समिति गठन गरिएको छ। यस्तै बैठकले उपप्रमुख इन्दिरा दरै र उनका कान्छा छोरा हेमन्त दरै सडक दुर्घटनामा घाइते भई उपचाररत रहेकाले शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरिएको प्रवक्ता तथा वडा अध्यक्ष सुरेश थापाले जानकारी दिए । साथै उनले बैठकका निर्णयहरू क्रमशः कार्यान्वयनमा लैजाने तयारी गरिएको जनाए ।



























