हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँमा जेन -जी आन्दोलनका घाइतेहरुलाई सम्मान

प्रहार समाचार । तनहुँ, १० फागुन २०८२ आइतबार । । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तनहुँमा जेनजी आन्दोलन र जनयुद्धका क्रममा घाइते भएका पाँच जनालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रहरी निरीक्षक शिवप्रसाद पाठक, प्रहरी सहायक हवल्दारद्वय हरि श्रेष्ठ र धनिराम महतो, प्रहरी जवान हरिप्रसाद वस्ती तथा २०५८ सालको जनयुद्धका क्रममा घाइते भएका आसबहादुर घिमिरे रहेका छन्। घिमिरे हाल शिक्षक सेवाबाट निवृत्त भइसकेका छन्।

उनीहरूलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र प्रहरी उपरीक्षक टेकबहादुर कार्की ले संयुक्त रूपमा दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरेका हुन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते सुरक्षाकर्मीहरू घाइते भएका थिए भने घिमिरे जनयुद्धकालीन संघर्षमा घाइते भएका थिए।


जिल्लामा प्रजातन्त्र दिवस फागुन ६, ७ र ८ गते तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइएको थियो। प्रदेश अस्पताल दमौलीमा बिरामीलाई फलफूल वितरण, सहिदका शालिकमा माल्यार्पण, दमौली बजार क्षेत्रमा सरसफाइ र निःशुल्क स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम सञ्चालन गरिएका थिए। आसन्न निर्वाचनलाई मध्यनजर गर्दै यस वर्ष मञ्चीय कार्यक्रम र भीडभाड नगरी औपचारिकता मात्रै निर्वाह गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए भने आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै जिल्लामै पहिलोपटक सम्मान गरिएको जिल्ला समन्वय समिति प्रमुख वाग्लेले उल्लेख गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button