हेडलाईनसमाचारबन्दीपुरगण्डकी

माओवादी तनहुँका नेता गुरुङ नेपाली कांग्रेसमा प्रवेश

प्रहार समाचार । तनहुँ, १० फागुन २०८२ आइतबार । दुई दशकभन्दा बढी समय माओवादी आन्दोलनमा सक्रिय तनहुँका डम्बर गुरुङले पार्टीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस प्रवेश गरेका छन्। तत्कालीन नेकपा (माओवादी केन्द्र) मा जिल्ला सदस्य (डिसिएम) का रूपमा २०५५ सालदेखि २०८२ सालसम्म राजनीति गरेका गुरुङले अब माओवादी वा त्यससँग सम्बन्धित कुनै पनि दलमा नरहने घोषणा गरेका हुन्।

बन्दिपुर गाउँपालिका–५ झारगाउँमा आयोजित कार्यक्रममा उनले सार्वजनिक रूपमा पार्टी परिवर्तनको घोषणा गर्दै माओवादीले शहीदका सपना र जनअपेक्षा लत्याएको आरोप लगाए।
गुरुङले देश र जिल्लाको वास्तविक रुपान्तरण अब नयाँ सोच र इमानदार नेतृत्वबाट मात्रै सम्भव हुने बताए। उनले तनहुँमा गोबिन्द भट्टराई र राष्ट्रिय राजनीतिमा गगनकुमार थापाबाट आशा देखिएको स्पष्ट पारे। “गगन थापाले नेतृत्व परिवर्तनका लागि देखाएको साहसले मलाई आकर्षित गर्‍यो,” उनले भने, “र तनहुँको विकासका लागि अहिले गोबिन्द भट्टराईको कुनै विकल्प छैन।”


कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोबिन्द भट्टराईले गुरुङलाई नेपाली कांग्रेसमा स्वागत गर्दै अनुभवी र संघर्षशील नेताको आगमनले पार्टी थप मजबुत हुने विश्वास व्यक्त गरे। गुरुङले भट्टराईको सादगी, इमान्दारिता र कर्मशील स्वभावको खुलेर प्रशंसा गर्दै आफू सधैंदेखि उनका विचार र कामबाट प्रभावित रहेको बताए।


काठमाडौंबाट हिंजो बन्दिपुर आइपुगेका गुरुङले अब मन, वचन र कर्मले गोबिन्द भट्टराईलाई विजयी गराउन लाग्ने प्रतिबद्धता जनाए । लामो समयको राजनीतिक यात्रापछि गुरुङको यो निर्णयलाई तनहुँको राजनीतिमा अर्थपूर्ण मोडका रूपमा हेरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button