प्रहार समाचार । दाङ, ९ फागुन २०८२ शनिबार । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको चुनाव चिन्ह अंकित झण्डा जलाउने घटनाले राजनीतिक वातावरणलाई थप तातेको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को चुनाव चिन्ह रहेको झण्डा जलाइएको घटनामा संलग्न थप दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको पक्राउ छ।

प्रहरीका अनुसार यहि फागुन ७ गते राति करिब ९ः३० बजे तुलसीपुर उपमहानगरपालिका–५ बिरेन्द्र चोकमा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाइएको थियो। उक्त घटनालाई गम्भीर अपराधका रूपमा लिँदै प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका क्रममा थप दुई जना व्यक्तिहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा तुलसीपुर–४, हलवारका ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६, गाइडरका २४ वर्षीय विक्रम परियार रहेका छन्। यसअघि सोही घटनामा संलग्न भएको आरोपमा बुद्धि बहादुर बस्नेत पक्राउ परिसकेका छन्। हाल तीनै जना प्रहरी नियन्त्रणमा रही उनीहरूबाट घटनाको उद्देश्य, संलग्न समूह र सम्भावित योजनाकारबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार चुनावी चिन्ह जलाउने कार्य केवल तोडफोडको घटना मात्र नभई सामाजिक सद्भाव बिथोल्ने र निर्वाचन प्रक्रियामाथि अविश्वास सिर्जना गर्ने प्रयास भएकाले यसलाई संवेदनशील रूपमा हेरिएको छ। त्यसैले घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान र खोजी कार्य तीव्र पारिएको छ।
स्थानीय बासिन्दाले यस्तो गतिविधिले शान्तिपूर्ण चुनावी वातावरण बिगार्ने भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरी प्रशासनले पनि कानुनविपरीतका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्दै दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।





















